रमेशप्रसाद लामिछाने

१. विकास भएको छैन भन्ने ? एक पटक विगत र वर्तमानको तुलना गरौं । आजको साक्षरता ७६.३ प्रतिशत र ३० वर्ष पहिलेको साक्षरता ३६.० प्रतिशत । त्यतिबेला पक्की सडक ३ हजार किलोमिटर हाल पक्की सडक १७ हजार किलोमिटर । मात्र १५ प्रतिशत नेपालीले बिजुली बत्तिको सुविधा उपभोग गरेकोमा ३० वर्षपछि आज ९५ प्रतिशत नेपालीले विद्युत सेवाको सुविधा उपभोग । कूल जनसंख्याको आधाभन्दा बढि गरिबीको रेखामुनी रहेकोमा हाल यो प्रतिशत घटेर १७ मा अएको तथ्यांक बाहिर आएको छ । प्रतिव्यक्ति आय २०० डलरबाट बढेर यो अवधिमा अहिले १,४०० डलर नाघेको छ ।

यसै अवधिमा मानव विकास सूचकांक ०.४२२ बाट बढेर ०.६०१ पुगेको तथ्यांक बाहिर आएको छ । त्यस्तै खानेपानी, सरसफाई, अस्पताल, विद्यालय, कलेज, विश्वविद्यालय, कृषिजन्य वस्तुको उत्पादन, सिचाई, कृषि प्रविधि, भौतिक संरचनाका निर्माण जस्ता सबै कुराहरुमा भएको प्रगतिलाई बुझ पचाउने ? प्रविधिमा भएको विकासको छलाङ र सञ्चार क्षेत्रको प्रगतिलाई लुकाउन मिल्छ र ? यी त स्पष्ट देखिने र दैनन्दिन व्यवहारमा सावित छन् । हिजोको नेपाल भनेर काठमाडौं बुझिन्थ्यो आज प्रत्येक टोल गाउँ नेपाल भएको छ । हिजोको दुनियाँ बुझ्न कठिन मानिन्थ्यो तर आज संसार साँघुरो बनेको छ । आज वडा कार्यालय नै सिंहदरबार सावित भएको छ । यस्ता अनेकौं उदाहरणहरु हाम्रा सामुन्नेमा छन् ।

२. हिजोको जीवनशैली र आजको जीवनशैली दाँजेर हेरौं न । हाम्रा खानपिन, लवाई, बसाई, हिँडाई, खेतीका तरिका, सवारी साधन लगायतका उपलब्ध सुविधाहरु आदि । लोपोन्मुख, अल्पसंख्यक, पिछडिएका क्षेत्र, दुर्गम, हिमाली, मधेसी आदि सबैको पहिचान र शासकीय निकायहरुमा अवसर र उपस्थिति । समयको गति सँगै समृद्धिका आधारहरुले लिइरहेको गतिलाई सकारात्मक भन्नमा किन संकोच ? प्राकृतिक सम्पदाहरुको संरक्षण र संवद्र्धन । सरकारी र गैरसरकारी कार्यालयीय काम र अभिलेखीकरणमा प्रविधिको पहुँच । विभिन्न विषयहरुका संस्था, विस्तार र विकास । विभिन्न रोगका उपचार, शिक्षण विधि र शैलीमा प्रविधिको अधिकतम प्रयोग । खोज र अनुसन्धानका सवालमा फड्को मारेको अवस्था । निर्माण र उत्पादनका क्षेत्रमा राष्ट्रले लिएको गति । हिजो सपनाको अमेरिका आज पानी पँधेरो । छोटो अवधिमा भएका विकास र समृद्धिका कामहरु । चिल्ला गाडीहरुले सडकको शोभा । रमणीय पार्क । बिरामी भएमात्र फलफूल देखिन्थ्यो आज… ।

३. जेठ १५ मा संघीय बजेट । असार १ गते प्रदेशको बजेट । असार १० भित्र सबै स्थानीय तहहरुको बजेट । विगतकै कार्यक्रमको निरन्तरता । उही काम, एकै शिर्षक । गत वर्षकै बाँकी काम । नयाँ सोच शून्य । वर्षौंदेखि उही कपी–पेष्ट । बजेट भाषणको औपचारिकता कहिलेसम्म ? जनताहरु नयाँ योजना र कामका प्रतिक्षामा । गत वर्षहरुकै शब्दहरुमा कुनै अगाडि कुनै पछाडि । एकाध शब्दहरुमा चलखेल । नाराहरुमा तलमाथि । कहिले शिक्षा अगाडि कहिले स्वास्थ्य अगाडि । कुनै राष्ट्रिय गौरवका आयोजना कुनै प्रदेश र कुनै स्थानीय गौरवका आयोजना । लक्ष्य र सीमा कागजमा सीमित । अवधि र लागत दुबै असीमित । साक्षर नेपाल भन्दै आएको डेढ दशक वर्ष भयो । कहिलेसम्म योजना सक्ने अवधि चाहिँदैन ? कार्यक्रमका नाम पनि पदहरुसँग जोड्नै पर्ने । कस्ले न्वारान गर्छ यस्ता शिर्षकहरु ? राष्ट्रपति चुरे संरक्षण, राष्ट्रपति शैक्षिक सुधार, प्रधानमन्त्री विपद् कोष, मुख्यमन्त्री…, मेयर … यी एकाध उदाहरण । यी शिर्षकका अर्थले लज्जित बनाउँदैन ? कहिल्यै यी नाममा गहिरिएर सोच्न नपर्ने ? पदसँग जोड्नै पर्ने भए अलि सुहाउँदो गर्न मिल्दैन ? हतार पनि ज्यादा भएन र ? चाकडीका नाममा जे गरे पनि राम्रो ?

४. खोलै नभएको स्थानमा पुलको सिफारिस गर्ने योजना आयोग । गोरेटो नै नभएको ठाउँमा पक्की सडक बनाउने बजेट । विद्यार्थी नभएर बन्द भएको विद्यालय भवनको नाममा बजेट । काल्पनिक नाम र ठेगानाको कलेजमा भवन निर्माणका लागि बजेट । नागरिक सचेतनाका नाममा बजेट । जनता जागरणका नाममा बजेट । टोलै पिच्छे सहकारी, मन्दिर, गुम्बा, चर्च, मस्जिदका नाममा बजेट । पानी टंकी, पाईप, धाराका नाममा बजेटको निरन्तरता । शहिदका नाममा बजेट । सामाजिक सुरक्षाका नाममा बजेट । शान्ति सुरक्षाका नाममा बजेट । पार्क निर्माणका लागि बजेट । चौतारीका लागि बजेट । अध्ययन अनुसन्धानका लागि बजेट । भ्रमणका लागि बजेट । भत्ताका लागि बजेट । अतिथि सत्कारका लागि बजेट । जताततै बजेट ।

कति पुगिसरी आएको बजेट ? यी स्थायी शिर्षकका केहि उदाहरण मात्र हुन् । सेना, प्रहरी, कर्मचारी, शिक्षक आदिका तलब भत्तालाई स्थायी शिर्षक बुझिन्छ । वास्तविक काम र शिर्षकको आलोचना किन गर्नु ? एक आधारभूत तहको स्कूलमा एक दशक वर्षसम्म लगातार भौतिक पूर्वाधार शिर्षकमा बजेट बिनियोजन गर्दा अलिक सोच्नु पर्दैन ? गत वर्ष बनाएको नै स्थानमा यो वर्ष पनि सडक निर्माण ? प्रदेश सरकारका कार्यालय भवन निर्माणका नाममा बजेट बिनियोजन हुन थालेको चार वर्षसम्म पनि भौतिक विवरण देखिन नपर्ने ? कहाँ खर्च हुन्छन् ती रकमहरु ? मन्त्री फेरिने बित्तिकै सोफा, टेबल, फर्निचर सबै फेर्नैपर्ने ? गाडी नयाँ नै चाहिने ? ती महँगा गाडी खरिदका लागि वर्षै पिच्छे बजेट ।

५. प्रधानमन्त्रीको क्षेत्रमा व्यापक बजेट । अर्थमन्त्रीको क्षेत्रमा बजेट, भान्सेले आफ्नो भाग पहिल्यै छुट्याउने । अरु मन्त्रीका क्षेत्रमा पनि मसिना काम खोजेर बजेट विनियोजन । ठूला दलका ठूला नेताका जिल्ला क्षेत्रमा बजेटै बजेट । मन्त्रीको भाग नपाउने जिल्ला क्षेत्रका जनताको के अपराध । प्रधानमन्त्रीले देशको प्रतिनिधित्व गर्न नपर्ने ? मन्त्री, देशको हुन नपर्ने ? उच्च पदस्थ कर्मचारी वर्गको चरित्र र नियत पनि दुराचारी र भ्रष्ट । मुलुकको बैदेशिक ऋण अत्यधिक । भ्रष्ट्राचारमा प्रश्रय र प्रोत्साहन । आवश्यक स्थानमा बजेटको अभाव । घुस र कमिशनको बोलवाला । देशका उद्योग, कलकारखाना बन्द हुँदै जाने क्रमको निरन्तरता । अत्यावश्यक क्षेत्र ओझेलमा । एक गाग्री पानी लिन दुई घण्टा जानै लाग्ने अवस्था दूर दराजका गाउँहरु । सिचाईको अभावले तराईको उर्वरभूमिमा काँसघारी । अस्पतालमा उपकरण र डाक्टरको अभावमा गर्भवतीको बाटैमा मृत्यु । चार घण्टा दर्के पानी पर्दा राष्ट्रव्यापी हाहाकार ।

६. अन्तमा, हरेक सिक्काको दुई पाटा भनेझैं । केहि असल केहि खराब । मात्रात्मक रुपमा कहिले कुनै बढि कुनै कम, आलोपालो । बत्ति मुनी अँध्यारो महसुस । एकले मालिकको ईशारा बमोजिम सबैतिर राम्रै राम्रो र सकारात्मक मात्र देख्ने । अर्कोले सबैतिर बिग्रेको केहि नै नभएको अब संसारै नष्ट हुने बेला जस्तो नकारात्मक मात्र देख्ने । यी दुबै प्रवृत्ति गलत र हानीकारक । कि त प्रशंशा मात्र कि भने गाली मात्र । वास्तविकता छोप्नै पर्ने । समस्या दृष्टिकोणमा र बुझाईमा । सप्रेकालाई राम्रो भन्नै नहुने । बिग्रेकोलाई खराब भन्नै नहुने । बिदेशिएका युवाको संख्या मात्र देख्ने । फर्किएर आएकाको गणना नहुने । गएका सबै सधैं बाहिरै त होईन नि । सही विश्लेषण सही दिशा । दिनलाई दिन भनौं, रातलाई रात भनौं । कालोलाई सेतो र सेतोलाई कालो देख्ने चस्मा मिल्काऔं । ठेक्का कसैको लिन जरुरी छैन ।