मलेसियाबाट उदारिएका सूर्यबहादुर घलान

हेटौँडा: वैदेशिक रोजगारीका क्रममा मलेसियामा अलपत्र परेका मकवानपुरको मनहरी गाउँपालिका–२ का सूर्यबहादुर घलानलाई सुरक्षित उद्दार गरी नेपाल फर्काइएको छ । घलानलाई सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मकवानपुरको समन्वयमा उद्दार गरिएको हो ।

घलान २०८० जेठ १५ गते सक्सेस नेपाल म्यानपावरमार्फत मलेसिया पुगेका थिए । मलेसियामा उनीले दयाँ इन्टेक सेक्युरिटी सर्भिस एसडीएन बिएचडी कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत थिए । २०८१ चैत १० गते कामबाट डेरामा फर्कने क्रममा सवारी दुर्घटनामा परी उनी घाइते भए । दुर्घटनापछि कम्पनीले औषधि उपचार नगरेको, घर पठाइदिन्छु भन्दै आलटाल गरेकाले घलान शारीरिक तथा मानसिक रूपमा विचलित बनेका थिए ।

उनले उद्दार गरिदिन परिवारलाई खबर गरेपछि परिवारले सम्बन्धित निकायमा हारगुहार गर्दै २०८२ साल जेठ २२ गते सामी कार्यक्रमको सम्पर्कमा आएको सामीका सूचना तथा परामर्शकर्ता पार्वती विश्वकर्माले जनकारी दिनुभयो । उहाँका अनुसार मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरी २०८२ असार ९ गते उनलाई नेपाल ल्याउन सफल भएको र हाल उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनु भएको छ ।