बागमती प्रदेशसभा सचिवालय भवन ।

हेटौँडा : बागमती प्रदेशसभा बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । असार १२ गतेका लागि तोकिएको बैठक बजेट विवादका कारण स्थगन भएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, बजेटमाथिको छलफल र त्यसपछि हुने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएको छ । मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरूबीच असन्तुष्टि देखिएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका प्रदेशसभा सदस्यहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् । कांग्रेस प्रदेशसभा सदस्यले बजेट माथिको असन्तुष्टिका कारण संसदीय दलको बैठक नै प्रभावित भएको थियो ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष देखिएको छ । केही प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गर्दै सार्वजनिक रूपमा असहमति जनाइसकेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । जसमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको दावी छ ।