हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले कक्षा–११ र १२ मा शिक्षाशास्त्र संकायमा निशूल्क पठनपाठन गराउने भएको छ । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निशूल्क पठनपाठनको व्यवस्था गर्न लागेको म्यानेजमेन्टले जनाएको छ । पछिल्लो समय दक्ष शिक्षकको अभाव देखिएको उल्लेख गर्दै म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशूल्क पठनपाठनको व्यवस्था गर्न लागेको जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्टले सीमित संख्यामा विद्यार्थी राखेर पठनपाठन गर्ने जनाएको छ । शिक्षाशास्त्र संकायमा नेपाली, अंग्रेजी र गणित विषय पठनपाठन गराउने जनाएको छ । औपचारिक अध्ययन, अध्यापनसँगै शिक्षाशास्त्र संकायमा निशूल्क अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अभ्यासको अवसर समेत प्रदान गरिने छ । विद्यार्थीको व्यवहारिक दक्षता अभिवृद्धिसँगै विद्यार्थीको शिक्षण क्षेत्रमा आत्मविश्वास बढाउने म्यानेजमेन्टले उल्लेख गरेको छ ।
२०५२ सालमा स्थापित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले अहिले कक्षा ११ र १२ मा विज्ञान संकाय, वाणिज्य संकाय, होटल म्यानेजमेन्ट, व्युटिसियन विषय पठनपाठन गर्दै आएको छ भने स्नातक तहमा बीआइएम, बीसीए र बीबीएस विषय अध्यापन गराउँदै आएको छ । यसअघि मानविकी र शिक्षाशास्त्र संकाय विद्यार्थीको आकर्षण कम भएसँगै हटाएको म्यानेजमेन्टले अहिले भने दक्ष शिक्षकको अभावमा निशूल्क पठनपाठनको अवसर प्रदान गर्न लागेको हो ।











