हेटौँडा : बागमती प्रदेशसभा बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिए पनि बैठक सुरु हुन सकेको छैन ।
आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले बजेटमाथि धारणा राख्नेछन् ।
बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ । बजेटमा चालु खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पूँजीगत खर्चतर्फ ४१ अर्ब ३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ । बागमती सरकारले कृषि क्षेत्रमा २ अर्व ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमा आधुनिक मासु प्रशोधन केन्द्रको निर्माण (एएए मोडेलमा), १६ स्थानीय तहमा कीटाणु परीक्षण प्रयोगशाला, ‘एक जिल्ला–एक कृषि उत्पादन’ को नीति, दोलखा र चितवनमा कीवी प्रशोधन केन्द्र, हेटौंडाको दूध प्रशोधन प्लान्ट संचालनको योजना रहेको छ ।
सरकारले संस्कृति पर्यटन तर्फ ३ अर्व ६७ करोड बजेटबाट दोलखाको डाङडुङ्गे हिललाई फिल्म सिटीमा रूपान्तरण, हेलम्बू ग्रेट ट्रेल, सैलुङ मिनी ग्रेटवाल लगायत ट्रेकिङ गन्तव्य विकास, गोकर्णेश्वरमा राजनीतिक क्रान्ति संग्रहालय स्थापना, चितवनलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन कार्यक्रम संचालन गर्ने गरी बजेट व्यवस्था गरिएको छ ।











