छलफलमा सुझाव राख्दै एक सहभागी ।

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आवासीय विद्यालयको आवश्यकता रहेको भन्दै स्थानीय बासिन्दाले आवासीय विद्यालयको माग गरेका छन् । सोमबार बकैयामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सुझाव संकलन एवम् अन्तरक्रियामा बकैयाका स्थानीयले आवासीय विद्यालय माग गरेका हुन् ।

आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा पालिकाले सुझाव संकलन एवम् अन्तरक्रिया गरेको हो । कार्यक्रममा स्थानीयले गाउँमा विद्यालय जाने अभिभावकविहीन विद्यार्थीको संख्या बढ्दै गएकोले उनीहरुलाई लक्षित गरी स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न आवश्यक रहेको औँल्याएका थिए । यस्तै, विद्यालयको अध्ययन पश्चात् पलायन हुने विद्यार्थी रोक्न स्थानीय सरकारले चासो दिन जरुरी रहेको स्थानीयको माग छ । छलफलको क्रममा तरकारी, फलफूल र मुख्य आम्दानीको दिगोपनाका लागि विशेष पहल गर्नुपर्ने, भौतिक पूर्वाधार क्षेत्रमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने वा अर्काे जिल्लामा जोड्ने सडक व्यवस्थित बनाउन पालिकाले बजेट विनियोजन गर्नुपर्ने, नदी, खोलानाला नियन्त्रणका लागि गुरुयोजना निर्माण, धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धन गरी आन्तरिक राजश्व वृद्धि, विगतका योजनालाई अध्ययन गरी आगामी आवमा आवश्यक योजना छनोट गर्नुपर्ने, सामाजिक संघ, संस्थाहरुसँगको समन्वय र सहकार्यमा एकीकृत सामाजिक सुधारको कार्यक्रम समावेश हुनुपर्ने र विपद व्यवस्थापनको लागि पूर्वतयारीका लागि संघ, प्रदेश र स्थानीय तहको एकद्वार प्रणाली हुनुपर्ने स्थानीयको माग रहेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाको मात्र स्रोतमा आवासीय विद्यालय सञ्चालन गर्न सम्भव नरहेको भन्दै प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गरिने बताउनुभयो । बकैया गाउँपालिकाको सहकार्य र अन्य संस्थाको सहयोगमा बकैया–५ अवस्थित गितावर आधारभूत विद्यालयमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको बताउँदै सञ्चालनमा समस्या आएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामिछानेले प्रदेश सरकारले स्थानीय सरकारले जति पनि काम गर्न नसकेको भन्दै स्थानीय सरकारले नै उत्पादनसँग नागरिकलाई जोड्ने गरी कार्य गर्दै आएको बताउनुभयो । विगतका दिनमा योजना धेरै राखेर बजेट निर्माण गर्ने तर कार्यान्वयन आधा काम मात्र हुने गरेको भन्दै उक्त समस्या समाधानका लागि अति आवश्यक विकासे बजेट निर्माण गर्नु पर्नेमा अध्यक्ष लामिछानेको जोड छ । पालिकाले बजेट निर्माण गर्दा उत्पादनको क्षेत्रमा लगानी गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यकताको आधारमा हरेक वडामा बजेट विनियोजन गर्ने जनाउनुभयो ।