हेटौँडा : हेटौँडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको कार्यवाहक अध्यक्षमा विवेक आनन्द न्यौपाने चयन हुनुभएको छ । यसअघि अध्यक्ष नवराज खनालले पारिवारिक कारण देखाउँदै राजिनामा दिनुभएपछि सञ्चालक समिति सदस्य तथा ऋण समितिका संयोजक न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको व्यवस्थापक विन्दु दाहालले जानकारी दिनुभयो ।
हेटौँडा–९ निवासी न्यौपाने सूचना प्रविधि क्षेत्रमा क्रियाशील हुनुहुन्छ । व्यवस्थापन संकायमा स्नात्तकोत्तर अध्ययनरत न्यौपाने सहकारीको अवस्था राम्रो रहेको र प्राप्त जिम्मेवारीलाई सौहाद्र्ध वातावरणमा निर्वाह गर्ने बताउनुहुन्छ । ७ सय सेयर सदस्य रहेको नमस्ते मकवानपुरको सेयर पुँजी ४९ लाख रुपैयाँ रहेको छ । यस्तै सहकारीले ४ करोड २७ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ३ करोड ८२ लाख रुपैयाँ ऋण लगानी गरेको कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ ।











