हेटौँडा : हेटौँडा चेस क्लबको आयोजनामा भएको यु–१४ विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनका कृतार्थ ढोडारी प्रथम हुनुभएको छ । शुक्रबार र शनिबार दुई दिन आयोजित प्रतियोगितामा सहभागी ६५ जनालाई पछि पार्दै कृतार्थले प्रथम स्थान हासिल गर्नुभएको हो ।
प्रतियोगितामा प्रथम हुँदै कृतार्थले पुरस्कारस्वरुप १ वर्षको छात्रवृत्ति पाउनु भएको छ । यस्तै हेटौँडा–४ स्थित नवोदय शिशु सदनका नाइस लामा लो द्वितीय स्थान हासिल गर्दै पुरस्कारस्वरुप ६ महिनाको छात्रवृत्ति पाउनुभएको छ । नवोदय शिशु सदनकै सरल मैनाली तृतीय स्थान हासिल गर्दै ३ महिनाको छात्रवृत्ति प्राप्त गर्नुभएको छ । हेटौँडा–५ स्थित जी एस निकेतनका विसम कोइराला र नवोदय शिशु सदनका श्रीश कर्माचार्य पाँचौं हुँदै १/१ महिनाको छात्रवृत्ति प्राप्त गर्नुभएको छ । पुरस्कारस्वरुप कुल २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हेटौँडा चेस क्लबका अध्यक्ष धरमबहादुर लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा हेटौँडाका ६ वटा विद्यालयको सहभागिता रहेको थियो । हेटौँडा चेस क्लबका अध्यक्ष धरमबहादुर लामाको अध्यक्षता तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सूर्यबहादुर दाहालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको थियो । हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा नेपाल बुद्धिचाल संघ बागमती प्रदेश समितिका सदस्य श्रीकृष्ण कर्माचार्य, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मी, मकवापुर जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष बुद्ध सापकोटाको पनि आतिथ्य रहेको थियो । पुरस्कारस्वरुप छात्रवृत्ति प्रदान गर्ने गरी पहिलो पटक आयोजना गरिएको विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने हेटौँडा चेक क्लबका महासचिव किशन घिसिङले जानकारुी दिनुभएको छ ।











