निर्णायकलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीनाकुमारी लामा ।

हेटौँडा : हेटौँडामा शनिबारबाट सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी र टिपटप न्यू डायमण्ड विजयी भएका छन् । शनिबर सम्पन्न दुई खेलमा पुलिसले बागमती प्रदेशलाई हराएको हो भने दोस्रो खेलमा डायमण्डले सशस्त्र प्रहरी बल (एपिएफ) लाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो खेलमा विभागीय टोली पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा विभागीय टोली एपिएफलाई न्यू डायमण्डले २७–२५, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विभागीय २ टिमसहित ७ टोलीको सहभागिता रहेको रहेको छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेशको सहभागिता रहेको छ ।

विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पाउनेछ । असार ११ सम्म हुने प्रतियोगिता लिग–कम–नकआउटको आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख लामाले हेटौँडामा भलिबलका लागि स्तरीय कभर्ड हलको आवश्यकता रहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासमा हेटौँडा उपमहानगरपालिका सदैव तत्पर रहेको पनि बताउनुभयो ।