हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुको समूह श्रमिक क्रियाशील विद्यार्थी समूहले २० जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार बिहान एक कार्यक्रमका बीच शैक्षिक सत्र २०८२ का लागि २० जना विद्यार्थीलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
विद्यालय प्रशासनले नै सिफारिस गरेका गरिब तथा जेहेन्दार विद्यार्थीको सूचिमा आवश्यक अध्ययन गरी उपयुक्त देखिएपछि समूहले विद्यार्थीलाई सहयोग गर्दै आएको छ । समूहमा आवद्ध पूर्वविद्यार्थीहरुले नै सहयोग रकम संकलन गरेर करिब १ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो । समूहले ६१ हजार ४ सय रुपैयाँ बराबरको शूल्क विद्यालयलाई बुझाउनुका साथै ४१ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेको छ ।
समूहकी अध्यक्ष सपना लामाको अध्यक्षता तथा श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम दहाल, श्रमिक पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा लाभग्राही विद्यार्थीका अभिभावकको पनि उपस्थिति रहेको थियो । श्रमिक क्रियाशील विद्यार्थी समूहले गत वर्ष २५ जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको थियो । १० कक्षासम्म पठनपाठन हुने श्रमिक माविमा ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।











