हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका प्राध्यापकहरुका लागि अनुसन्धानमूलक लेख लेखन सम्बन्धी तीनदिवसीय कार्यशाला सुरु गरेको छ । आज बिहान एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको छ । क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको छ ।

क्याम्पसका प्राध्यापकहरु एमफिल तथा विद्यावारिधी तहको अध्ययन, अनुसन्धानमा सहभागी भइरहेको सन्दर्भमा उनीहरुका लागि सहयोगी हुने गरी अनुसन्धानमूलक लेख लेखनसम्बन्धी कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले बताउनुभएको छ । समुदायको अग्रसरतामा स्थापित मकवानपुर बहुमुखी क्याम्पस भविष्यमा प्रदेशको विश्वविद्यालयको रुपमा स्थापित हुने सम्भावनालाई लक्षित गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष्ँ अनन्तप्रसाद पौडेलले यस किसिमका कार्यशालाले क्याम्पसका प्राध्यापकको सीपविकास तथा दक्षता अभिवृद्धि सँगै क्याम्पसको संस्थागत विकासमा पनि योगदान पुग्ने बताउनुभयो ।

दैनिक करिब ३ घण्टाका दरले आयोजना गरिएको कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल, डा. रामप्रसाद अधिकारी, हटिया जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा. विजय नेपाल, प्राध्यापकहरु भोजराज ढकाल, केशव तिमल्सिना, लोकराज शर्मा, संगम चौलागाई, उत्तम अर्याल, अभिमन्यू हुमागाईले सहजीकरण गर्नुहुनेछ ।