हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा रहेका एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–२३ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
थाहा नगरमा ग्रील उद्योगमा काम गर्ने युवक ५ दिनअघि वीरगन्जबाट थाहा नगर पुगेर क्वोरन्टिनमा बस्दै आएका थिए । थाहा नगरबाट प्राप्त ७ वटा नमूना मध्ये आज बिहान प्राप्त रिपोर्टअनुसार एकजनामा संक्रमण पाइएको हो । संक्रमण पुस्टि भएसँगै ती युवकलाई आईसोलेसन वार्डमा ल्याईदैछ । संक्रमण पुस्टि भए तापनि युवकको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सोमबार आइसोलेसन वार्डले पठाएको २८ वटा नमूना मध्ये २४ वटाको नतीजा संक्रमण नभएको पाइएको र अन्य ४ वटा नमूनाको परीक्षण भइरहेको ईन्चार्ज चौलागाईले बताउनुभएको छ ।