हेटौडाः संघीय राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने नागरिकहरुलाई कडाई गरिएको छ । मुलुकमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि भएको र काठमाडौं उपत्यकामै कोरोनाको संक्रमित बढ्दै गएपछि नेपाल सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अहिले उपत्यका जान चाहने सबैले पास नपाउने बताएको छ । यसअघि विभिन्न काम देखाई पास जारी गरिए तापनि हाल त्यस्तो नगरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गड्तौलाले जानकारी दिनुभयो । अतिआवश्यक काम भएका र संक्रमण नभएको कागजपत्र पुर्‍याएका बाहेक अन्यलाई पास जारी नहुने उहाँले बताउनुभयो । उहाँका अनुसार पास लिएर गएकाहरुलाई पनि नागढुङ्गाबाट केहीलाई फिर्ता पठाइएको छ भने अन्यको फर्पिङ, नागढुङा कोरोना परीक्षण गर्न स्वाबको नमूना संकलन गरेर मात्रै उपत्यका प्रवेश गर्न दिइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई कोरोनाको संक्रमण नभएको स्पष्ट खुल्ने कागजात पेश गरेकालाई मात्र पास जारी गर्न निर्देशन भएको उहाँले बताउनुभयो ।

उपत्यका प्रवेश गर्न कडाई भएसँगै कोरोनाको परीक्षण गर्नुपर्ने दायरामा नपरेका व्यक्तिहरुले पनि पिसिआर परीक्षण गराउन थालेका छन् । हेटौंडा आइसोलेसन वार्डमा सोमबार मात्र २४ जनाको स्वाबको नमूना संकलन गरिएकोमा १२ जना उपत्यका जान खोज्ने रहेको आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना बाहेकका अन्य होम क्वारेन्टाइनमा बसेका र विभिन्न क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन भएको हो । उपत्यका जान खोज्ने १२ जनाको भने हेटौंडा अस्पतालको सिफारिसमा स्वाब संकलन भएको हो । पहिले दैनिक १० देखि १५ जनाको स्वाबको संकलन हुने गरेकोमा अहिले उपत्यका प्रवेश गर्नेको पनि स्वाब संकलन गरिएकोले स्वाबको नमूना संकलन बढेको उहाँको भनाइ छ ।