हेटौंडाः आगामी भदौ २ र ३ गते हेटौंडामा आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाको तयारीका लागि महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले आज हेटौंडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखा समितिसँग छलफल गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय, प्रदेश र जिल्ला तीनै तहको अधिवेशनको तयारी समेत गर्ने गरी आयोजना गर्न लागिएको महासंघको राष्ट्रिय भेलाको विषयमा आवश्यक तयारी र सहकार्यका विषयमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारीबीच छलफल भएको हो ।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सुरक्षित ढंगबाट राष्ट्रिय भेला आयोजना गर्ने, सम्भव भएका र कम प्रभावित जिल्लाका प्रतिनिधि भौतिक रुपमै सहभागी हुने र कोरोना भाइरस प्रभावित जिल्लाका प्रतिनिधिलाई भर्चुअल रुपमा सहभागी गराउने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । अझै दुई साताको अवधिमा कोरोना भाइरसको संक्रमणको अवस्था के हुने भन्ने निश्चित नभएकोले सतर्कताका साथ आवश्यक तयारी गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।
पत्रकार महासंघको हेटौंडा भेलाका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले गरिरहेको तयारीका बारेमा अध्यक्ष प्रताप विष्टले जानकारी गराउनुभएको थियो । अध्यक्ष विष्टले राष्ट्रिय भेलाका लागि प्रदेश सरकार र स्थानीय सरकारसग सहकार्य गर्न छलफल भइरहेको र निजी क्षेत्र, व्यवसायीसँग कुनै किसिमको आर्थिक सहयोग नलिई सीमित संस्थासँग मात्रै सहकार्य गरिने जानकारी दिनुभयो ।
छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय समिति महासचिव रमेश विष्ट, केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश समितिकी उपाध्यक्ष नानीमैया कार्की, महासचिव कृष्ण सारु मगर, मकवानपुर जिल्ला शाखा अध्यक्ष हरिप्रसाद हुमागाईको पनि उपस्थिति रहेको थियो ।