हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने संरचना धरासायी हुने टिप्पणी गर्नुभएको छ । उहाँले नागरिकका हक, अधिकारप्रति राज्यका संरचनाहरु जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभयो ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२ औं वार्षिकोत्सव समाराहेलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले नागरिकको अपेक्षा अनुसारको विकास निर्माण तथा सेवा प्रवाहको काममा गम्भीर हुनुपर्ने बताउनुभयो । नागरिकका समस्या सहजीकरणका लागि राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबाट सक्दो प्रयास हुनुपर्ने उहाँको धारणा थियो । नगरप्रमुख लामाका अनुसार सहज सेवा प्रवाहसहित सुशासन र पारदर्शितामा गम्भीर रहेर काम गर्नुपर्छ । राज्यका संरचनाहरु बीच समन्वय र सहकार्यका माध्यमबाट नागरिक माझ सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाई छ ।
हेटौँडा उपमहानगरपालिका खानेपानीको सहज आपूर्तिका लागि निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो । नागारिकको खानेपानी सम्बन्धी हक पुरा गर्न उपमहानगरपालिकाले बोर्ड मार्फत् भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुहुँदै न्यूनतम महशुलमा विपन्न नागरिकको पहुँचमा खानेपानीको सुविधा पुर्याएर खानेपानी सम्बन्धी अधिकार सुनिश्चितताको पहल भइरहेको उहाँले दावी गर्नुभयो ।
हेटौँडा उपमहानगपालिकामा खानेपानी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा व्यवस्थापन गर्न संघ, प्रदेश र अन्य सरकारउँगको समन्वयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । खानेपानीको स्रोत पहिचान, व्यवस्थापन तथा संरचना निर्माणका लागि उपमहानगरपालिकाले प्रयास गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । खानेपानीको स्रोत व्यवस्थापन, संरक्षण तथा विस्तारका लागि बोर्डले योजनावद्ध रुपमा काम गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय खानेपानीको मुहान सुक्दै गइरहेकाले रिचार्ज पोखरी निर्माणको कार्यमा बोर्डले योजना तयार गरी अघि बढाएको उहाँको भनाई छ ।










