निर्णायकलाई बल दिएर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरउपप्रमुख राजेश बानियाँ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा आज हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भयो । आज भएको उद्घाटन खेलमा थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाबीच खेल भएको थियो । भीमफेदी गाउँपालिकालाई २५–१४ र २५–२१ को सोझो सेटले हराउँदै थाहाले जित निकालेको छ ।

यसअघि आज बिहानै भएको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकाले इन्द्रसरोवर गाउँपालिकाको टिमलाई २५–१७, २५–१९ को सोझो सेटमा पराजित गरेको छ । यस्तै आज बिहानै भएको दोस्रो खेलमा भीमफेदी गाउँपालिकाले मकवानपुरगढी गाउँपालिकाको टिमलाई २५–१५, २५–१८ को सोझो सेटमा पराजित गरेको थियो । आजै भएको तेस्रो खेलमा बकैया गाउँपालिकाले बागमती गाउँपालिकालाई २५–१४ र २५–१३ को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगितामा ७ वटा पालिकाको सहभागिता रहेको छ । सहभागी टिमलाई २ वटा समूहमा विभाजन गरेर लिग–कम–नकआउट प्रणालीमा प्रतियोगिता आयोजना गरिएको छ । समूह क मा हेटौंँडा उपमहानगरपालिका, बकैया, बागमती र इन्द्रसरोवर गाउँपालिका रहेको छ । यस्तै समूह ख मा थाहा नगरपालिका, मकवानपुरगढी र भीमफेदी गाउँपालिका रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रूपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ८० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई टिमले ३० हजार रूपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।