हेटौँडा–काठमाडौं छोटो मार्गको रुपमा रहेको हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक निर्माणको सिलसिला जारी छ । २०६० को दशकबाट सडक सुचारु भएयता २० वर्ष भइसक्दा पनि यो सडक निर्माण कार्य जारी छ । हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने ४ वटा मार्ग छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीबाट उत्तरतर्फ सिस्नेरी–दक्षिणकाली–फर्पिङ, फाखेल–हुमाने–फर्पिङ, महालक्ष्मी खोला–चित्लाङ–मातातीर्थ, महालक्ष्मी खोला–चन्द्रागिरी हुँदै थानकोट वा सतुङ्गल पुग्न सकिन्छ । यी सबै मार्गहरु पूर्णरुपमा निर्माण हुन सकेको छैन । हेटौँडाबाट भैंसे हुँदै भीमफेदी र भीमफेदीदेखि देउराली हुँदै कुलेखानीसम्मको सडक प्रदेश सरकारले विस्तार र स्तरोन्नतिको कार्य पूरा गरेसँगै केही सहज भएको छ ।

प्रदेश राजधानी र संघीय राजधानी जोड्ने छोटो मार्ग भएकाले यसलाई प्रदेश सरकारले महत्वका साथ लिने र छिटो भन्दा छिटो निर्माण सम्पन्न हुने अपेक्षा गरिएको थियो । तर, प्रदेश सरकारले पनि त्यत्ति धेरै महत्व दिएको देखिँदैन । कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड निर्माण पूरा हुनै लाग्दा २०८० असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाले ठूलो क्षति पुर्यायो । कुलेखानीको सिमखोला, सिस्नेरी बजार क्षेत्रमा बढी क्षति पु¥याउनुका साथै विभिन्न स्थानमा क्षति पुगेको छ । यस्तै कुलेखानी–महालक्ष्मीखोला–फाखेल खण्डमा पनि क्षति पुगेको छ । अहिले कुलेखानी ड्याम तलको खण्डको क्षति पुगेको सडक पुनर्निर्माण हुन समय लाग्ने देखिन्छ ।

कुलेखानी–फाखेल–हु्माने खण्ड कालोपत्रे गर्न सुरु गरिएको छ । यस्तै महालक्ष्मी खोला–मातातीर्थ र महालक्ष्मी खोला चन्द्रागिरी सडकखण्ड पनि कालोपत्रे गर्ने गरी निर्माण कार्य भइरहेको छ । मध्य तराई र प्रदेश राजधानीलाई काठमाडौंसँग जोड्ने छोटो मार्गलाई अझ छोटो, सहज, सुरक्षित र गुणस्तरीय बनाउन मुख्यतः प्रदेश सरकारले नै अग्रसरता देखाएर संघीय र स्थानीय सरकारलाई समेत सहयोगी बनाएर काम गर्नुपर्ने थियो । त्यसतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन ।

हेटौँडा–भीमफेदी–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डलाई अझ छोटो बनाउन भीमफेदीबाट कुलेखानीको सिमखोला खण्डमा सुरुङमार्ग बनाउने हो भने छोटो मार्ग अझ छोटो र सहज समेत हुने थियो । अहिले देश सुरुङमार्गको युगमा प्रवेश गरेको भन्दै संघीय सरकारले देशका विभिन्न भागमा सुरुङमार्ग बनाउँदै गर्दा बागमती प्रदेश सरकार, भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको समेत सहकार्यमा भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । यसले प्रदेश राजधानीलाई संघीय राजधानीसँग अझ नजिक र सहज पहूँच स्थापित गर्नेछ । यसबाट मधेश प्रदेशले पनि लाभ लिन सक्नेछ । प्रदेश राजधानी हेटौँडा अझ व्यस्त र प्रमुख सहरको रुपमा रहनेछ । जसले प्रदेश सरकारको आर्थिक र रणनीतिक भूमिका बढाउनेछ । यस विषयमा प्रदेश सरकारले गम्भीर भएर उपयुक्त योजना बनाउनतर्फ ध्यान जाओस् । साथै छोटो मार्गको लम्बिँदै गएको कथाले टुंग्याउन पनि प्रदेश सरकारको ध्यान जाओस् । लक्ष्य निश्चित गरेर प्रदेश सरकारले छोटो मार्गको निर्माण कार्य पूरा भएको घोषणा गर्ने अठोट समेत लिन सकोस् ।