हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका पदाधिकारी तथा शिक्षकहरुले वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । विद्यालयले गर्दै आएको शैक्षिक क्रियालकलापका बारेमा जानकारी गराउनुका साथै आगामी कार्यक्रमका बारेमा टोल विकास संस्थाका प्रतिनिधिसँग छलफल गरिएको सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु वजगाईको अध्यक्षतामा भएको छलफलमा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले विद्यालयको गतिविधिका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विद्यालय बन्द रहँदा विद्यालयका शिक्षकले विद्यार्थीको सिकाई अभ्यासका लागि समुदायमै पुगेर शैक्षिक क्रियाकलाप गराइरहेका छन् भने सूचना प्रविधिको पहूँच भएका विद्यार्थीलाई अनलाइनमार्फत पठनपाठन गरिरहेको छ ।
दश जोड दुई तहमा कानून संकाय र वनविज्ञान संकाय समेत सञ्चालन गर्दै आएको सिद्धार्थ माविले नयाँ शैक्षिकसत्रबाट दश जोड दुई तहमा विज्ञान संकाय सञ्चालनको अनुमति पाएको छ । विज्ञान संकाय सञ्चालन सम्बन्धमा अभिभावक तथा समुदायलाई पनि जानकारी गराउने उद्देश्यले छलफल गरिएको अध्यक्ष मधु बजगाईले बताउनुभएको छ । छलफलमा अभिभावकले विद्यालयको गतिविधिप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । २ नम्बर वडामा रहेका १९ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।