देवराज तिवारी

मलाई छ प्यारो म बाँच्ने कला यो
दुखेको छ छाती रुकेको गला यो

सुनाऊँ कहाँँ गै सुकेको छ छाती
नउठ्ने गरेरै परेको थला यो

जहाँ यै धराले भुलेको छ जस्तो
छ दब्दै गएको चढेको तला यो

बनाऊँ भनेरै चढेको हुँ छाना
र लाग्दै छ निक्कै गलेको बला यो

छ पुग्दो प्रशस्तै म हिँड्ने धुलौटो
र रित्तो हुँदै लौ भकारी खला यो ।