हेटौँडा : आँचल साहित्य कला पुञ्जले उत्कृष्ट १० वक्ताको सूचि सार्वजनिक गरेको छ । ३२औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको ‘सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलन’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा सहभागी १९ मध्ये उत्कृष्ट १० को नाम आइतबार सार्वजनिक गरेको हो ।
खुला वक्तृत्वकला प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका १० जनामा आदित्य पराजुली, आलिया थपलिया, एरिना चौलागाई, देविना सञ्जेल, प्रियान्सु पोखरेल, प्रेक्षा तिमल्सिना, राशिका खनाल, सर्जु भण्डारी, सुनिल न्यौपाने र सुलक्षणा अर्याल रहेका छन् । शनिबार हेटौँडा–४ स्थित साहित्य संगम–सिस्नुपानी मकवानपुरको सभाहलमा सहभागीले प्रारम्भिक चरणको वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
प्रारम्भिक चरणमा सहभागी भएका मध्येबाट उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने आँचल साहित्यकला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभएको छ । अन्तिम प्रतिस्पर्धामा सहभागीलाई नयाँ विषय दिइएको छ । अन्तिम प्रतिस्पर्धामा १० जनाले ‘समृद्ध गणतन्त्रका आधारहरु’ शीर्षकमा आफ्नो वक्तृत्वकला प्रस्तुत गर्नुपर्नेछ । अन्तिम चरणको प्रस्तुती आगामी शुक्रबार हुनेछ । हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयमा वडाअध्यक्ष फुर्वा दोर्जे लामाको उपस्थितिमा आइतबार अन्तिम १० को सूचि सार्वजनिक गरिएको हो ।
आँचल साहित्य कला पुञ्जको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ । आगामी शुक्रबार वक्तृत्वकलाको अन्तिम प्रस्तुतीका साथै साहित्यकार पारिजातको वृत्तचित्र प्रदर्शनी, पारिजातको व्यक्तित्व तथा कृतित्वमाथि विमर्श, रचनावाचन तथा साँस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।











