चट्याङ मास्टरलाई सम्मान गरिँदै । साथमा सुवोध गौतम पनि । तस्वीर : महेन्द्र ओझा ।

हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरले दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरेको छ । सिस्नुपानीको २५औँ स्थापना दिवसको अवसरमा शनिबार दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरिएको हो ।

स्थापना दिवसको अवसरमा सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई २५ हजार रुपैयाँ नगदसहित गणेश कुमार पौडेल स्मृति हास्यव्यंग्य सम्मान प्रदान गरिएको छ । यस्तै युवा हास्यव्यंग्यकार सुबोध गौतमलाई २० हजार रुपैयाँ नगदसहित आरसी रिजाल हास्यव्यंग्य सम्मान प्रदान गरिएको छ । कार्यक्रममा सिस्नुपानी नेपालका मकवानपुरका संस्थापक आरसी रिजालको प्रमुख आतिथ्य तथा अध्यक्ष पौडेलको सभाध्यक्षतामा भएको थियो ।

सम्मान ग्रहणपछि चट्याङ मास्टर र सुवोध गौतमले हास्यव्यंग्य प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा राधा पौडेल, निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सिनुपानी मकवानपुरकी कोषाध्यक्ष सुभद्रा हुमागाईले गर्नु भएको थियो । कार्यक्रममा सुमार्गी हुमागाईले प्रहसन प्रस्तुत गर्नुभयो भने गोविन्द पौडेल र अनिल पौडेलले कविता वाचन गर्नुभयो ।