हेटौँडा : संघीय राजधानी काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण मनहरी गाउँपालिकामा आधारभूत तह (कक्षा–८) ग्रेडवृद्धि परीक्षा स्थगित भएको छ । शिक्षकहरु आन्दोलनमा भएका कारण बैशाख ७ गतेदेखि संचालन गर्ने भनिएको आधारभूत तह (कक्षा–८) ग्रेडवृद्धि परीक्षा स्थगित भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । शिक्षकहरु आन्दोलनबाट फर्किए पश्चात सूचना जारी गरेर परीक्षा संचालन गर्ने उहाँको भनाई छ । मनहरी गाउँपालिकामा एक विषयमा ननग्रेडेड भएका १४६ जना विद्यार्थीले मौका परीक्षा दिन पाउने उहाँले जानकारी दिनुभयो । परीक्षा बैशाख ७ गते दिउँसो १ बजेदेखि राष्ट्रिय रोटरी माविमा हुने भनिएको थियो ।

पालिकाले चैत २९ गते सार्वजनिक गरेको नतीजामा जीपीए ४ सय ५४ जना (५९.८२ प्रतिशत) विद्यार्थी कक्षा–९ मा अध्ययन गर्न योग्य भएका थिए भने र ३०५ जना विद्यार्थी १.६ जीपीए भन्दा कम प्राप्ताङ्कसहित ननग्रेडेड भएका थिए । मनहरी गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालय गरी १८ वटा विद्यालयबाट कक्षा–८ को वार्षिक परीक्षामा विद्यार्थी सहभागी भएका थिए ।