हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा अपाङगता भएका व्यक्तिहरुलाई अपाङगता परिचयपत्र वितरण भैरहेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले अपाङग भएकाहरुलाई परिचयपत्र वितरण गरिरहनु भएको छ । परिचयपत्र वितरण गर्दै उपमेयर लामाले सरकारले अपाङगता भएकाहरुलाई सम्मान र माया गर्दै भत्ता प्रदान गरे जस्तै गरी परिवारले पनि माया गर्नुपर्ने बताउनुभयो ।
साविकको महिला तथा बालबालिका कार्यालयबाट पाएको परिचयपत्रको सट्टा नयाँ परिचयपत्र वितरण गर्ने, परिचयपत्र नपाएकाहरुलाई परिचयपत्र वितरण गर्ने र कस्तो अपाङगताले कुन वर्गको अपाङगता परिचयपत्र पाउने हो या नपाउने भन्ने विषयहरुमा पुनरावलोकन गरिने हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास शाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो । १० नम्बर वडा अपाङगता समन्वय समितिका अध्यक्ष विजय श्रेष्ठको सभाध्यक्षतामा भएको अपाङगता परिचयपत्र वितरण कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष कितापसिं लामा, वडा सदस्यको पनि उपस्थिति रहेको थियो ।