फाइल तस्विर

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष उद्योगतर्फ ६ वटा योजनाहरु सञ्चालन गरी सम्पन्न गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले उद्योग, पर्यटन, स्वरोजगारी तथा सहकारी प्रबद्र्धन शाखा अन्तर्गत उद्योगतर्फ ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिकाले गत वर्ष विभिन्न ६ वटा योजनाहरु सम्पन्न गरेर भौतिकतर्फ ८५ दशमलब ७१ प्रतिशत र वित्तीयतर्फ ७६ दशमलव ५ प्रतिशत प्रगति गरेको छ ।

गत आर्थिक वर्षमा उपमहानगरपालिकाले ‘घ’ वर्गको इजाजत पत्र लिने फर्महरु ३ सय ३ वटा मध्ये २ सय ७० वटा फर्महरुले इजाजतपत्र नवीकरण गरेको र ९ वटा फर्महरुको नामसारी तथा ठाउँसारी भएको जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ‘घ’ वर्गको व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ लाई पहिलो संशोधन गरेको छ । त्यस्तै बागमती प्रदेशको सहकारी व्यापार व्यावसाय सम्बन्धी ऐन, २०७६ अनुसार उपमहानगरपालिकाकोे क्षेत्र भित्र ५ लाख रुपैयाँ पूँजी भएको उद्योग व्यवसाय दर्ताका लागी उद्योग व्यवसाय दर्ता सम्बन्धी ऐन, २०७७ तर्जुमा गरी दर्ता प्रक्रिया सुरु गरेको हेटौंडा उपमहानगरपालिका सूचना अधिकारी रामकृष्ण थापाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा उद्योगतर्फ विभिन्न तालिमहरु प्रदान गर्नुको साथै नगर दलित समन्वय समिति मार्फत ९ वटा वडाहरुका ११ जनालाई सिलाई मेसिन तथा आरनका साधनहरु वितरण गरेको छ । उपमहानगरले स्थानीय हाटबजार तर्फ वडा नम्बर १२ मा २ वटा सेड घर निर्माण गर्नुको साथै महिलाहरुद्वारा आयोजित व्यापार मेलामा सहयोग पनि गरेको छ ।

त्यस्तै लागत साझेदारीमा एक सहकारी संस्थालाई प्याकेजिङ मेशिन खरिदमा पनि सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा उद्योगतर्फ १६ लाख बजेट विनियोजन गरेको छ । चालु वर्षंमा ‘युएनडिपि’ सँगको साझेदारी नभएकाले बजेट घटेर आएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापाले बताउनुभयो । गत आर्थिक वर्षमा उपमहानगरपालिकाको उद्योग तर्फको कार्यक्रमहरुमा ‘युएनडिपि’ को साझेदारी रहेको थियो ।