हेटौँडा : मकवानपुर प्रहरीले एकै दिन छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईनसहित ६ जनालाई पक्राउ गरेको छ । हेटौँडा–८, ओमनगरस्थित रनिश थापाको घरबाट लागूऔषध खैरो हेरोईनसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा ३७ वर्षीय रनिशसहित ३५ वर्षीय सुनिल खड्गी र हेटौँडा–१५ का ३२ वर्षीय धन सिंह वाईबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
लागूऔषध खैरो हेरोईनको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई रनिशको घरबाट पक्राउ गरेको थियो । प्रहरीले उनिहरुको साथबाट २ ग्राम २९० मिलि ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको थियो ।
यस्तै हेटौँडा–१०, न्युरेनीस्थित हुम बहादुर थापा मगरको घरबाट लागूऔषध खैरो हेरोईनसहित कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । मंगलबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा ४३ वर्षीय हुम बहादुरसहित, हेटौँडा–२ चौकीटोलका २४ वर्षीय बिजय आले मगर र हेटौँडा–१८ का २० वर्षीय रविन सुनारलाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ । लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।