वार्षिकोत्सव समारोहमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–९, पशुपतिनगरस्थित हेटौँडा मोर्डन आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका प्रिन्सिपल सुदीप बर्तौलाको सभाध्यक्ष तथा हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष केसीले वडामा सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने बताउनुभएको छ । वडा कार्यालयले विद्यालयमा नर्सको व्यवस्था गर्ने उहाँले बताउनुभयो । कक्षा–१२ उत्तीर्ण गर्ने विद्यार्थीका लागि रोजगारीमूलक तथा सीपमूलक तालिम कार्यक्रम आयोजना गर्ने उहाँको भनाइ छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, नियमित विद्यालयमा उपस्थित विद्यार्थी र वार्षिक खेलकुदमा विजेता बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको प्रिन्सिपल बर्तौलाले बताउनुभयो । विद्यालयले खेलकुद कार्यक्रम अन्तर्गत एथ्लेटिक्स, डोरी तान्ने, चकलेट दौड, बुक ब्यालेन्स, तातो आलु, फुटबल, कबड्डीलगातका खेलहरु भएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयको उत्कृष्ट विद्यार्थी घोषित हुँदै सुनिसा श्रेष्ठले ट्रफी प्राप्त गरेकी छिन् । कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न साँस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । वार्षिकोत्सवकै अवसरमा आमन्त्रित अतिथिलाई मायाको चिनोस्वरुप पुस्तक प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको थियो । कक्षा–१० सम्म पठनपाठन हुने विद्यालयमा करिब ४ सय जना विद्यार्थी अध्यनरत छन् ।