बैठकमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरु ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीहरुसँग कार्य प्रगतिको समीक्षा गर्नुभएको छ । मुख्यमन्त्री लामाले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चालु आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गर्नुभएको हो ।

प्रदेश सरकारको चालू आर्थिक बर्ष २०८१/०८२ को विनियोजित बजेट तथा कार्यक्रमहरु कार्यान्वयनको अवस्था बारेमा मुख्यमन्त्री लामाले विभागीय मन्त्रीहरुसँग समीक्षा गर्नुभएको हो । उहाँले प्रगति समीक्षासँगै कार्य संचालनको सन्दर्भमा रहेको समस्याहरुको बारेमा समेत छलफल गर्नुभएको थियो । छलफलमा मुख्यमन्त्री लामाले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता अनुुसारको प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री लामाले हरेक महिना मन्त्रालयमा सचिवहरुसँग कार्यसम्पादन मूल्यांकन तयार गर्न र तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रदेश सरकारको पूँजीगत खर्च बढाउन र आर्थिक मितव्ययिता कायम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

साताको ४ दिन अनिवार्य रुपमा मन्त्रालयमा बस्न उहाँले मन्त्रीहरुलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री लामाले प्रशासनिक खर्च कटौती गर्न र पदीय मर्यादा कायम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । प्रदेश सरकार र संघीय संरचनालाई बलियो बनाउने गरी आलोचनारहित कार्यसम्पादनमा जोड दिनुपर्ने मुख्यमन्त्री लामाको भनाई थियो । छलफलमा सहभागी मन्त्रीहरुले कर्मचारी व्यवस्थापन र समय सान्दर्भिक निर्णयको भूमिकामा सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । उनीहरुले कर्मचारीहरु पहुँचमा आउने र जाने गर्दा काम गर्न समस्या भएको गुनासो गरेका थिए ।

छलफल माघ मसान्तसम्म प्रदेशको चालु तर्फ खर्च २९.७६ प्रतिशत र पुँजीगत खर्च १४.३० प्रतिशत गरी कुल २०.१८ मात्रै खर्चको समीक्षा गरिएको थियो भने खर्च नहुने बजेट समर्पण नहुनु, प्रदेशको राजश्व संकलन गत वर्षको तुलनामा २ करोड ७१ लाख रुपैयाँ कम रहेको विषयमा केन्द्रीत रहेको थियो । राजश्व संकलनको समस्या, चुनौति र व्यवस्थापन, कार्यसम्पादन सम्झौताउपर पछिल्लो ८ महिनाको प्रगति विवरण, मन्त्रीहरुले मुख्यमन्त्री कार्यालयको पूर्वस्वीकृति लिने, हप्तामा ४ दिन र सचिव ५ दिन अनिवार्य हेटौँडा बस्ने, मन्त्री तथा कर्मचारीको आचरण, सचिवालयको नियन्त्रण, भ्रष्ट्राचार, अनियमितता रोक्ने विषयमा छलफल भएको थियो ।