त्रिभुवन विश्वविद्यालयको आंगीक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचनको आफ्नै महत्व छ । स्ववियु निर्वाचनले विद्यार्थीमा नेतृत्व क्षमताको विकास गर्न मद्दत गर्दछ । विद्यार्थीलाई राजनीतिप्रति आकर्षित गर्ने माध्यम पनि स्ववियु हो । स्ववियुले क्याम्पसको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको हकहित संरक्षणका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । स्ववियुले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुर्‍याउँदै आएको छ । देशका विभिन्न ठाउँका केही क्याम्पसहरुमा विभिन्न विवादका कारण आज स्ववियु निर्वाचन नहुने भए पनि मकवानपुर जिल्लाका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वनविज्ञान अध्ययन संस्थानको हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, पालुङ बहुमुखी क्याम्पसलगायतमा स्ववियु निर्वाचन हुँदैछ । वंशगोपाल बहुमुखी क्याम्पसमा भने स्ववियुका पदाधिकारी निर्विरोध चयन भएका छन् ।

पञ्चायती शासन व्यवस्थाकै समयबाट स्ववियु निर्वाचन हुने गरेको छ । दलबिहीन पञ्चायती व्यवस्थामा हुने गरेको स्ववियु निर्वाचनले विद्यार्थी संगठनलाई राजनीतिक दलप्रति आकर्षित गर्न सहयोग गरेको थियो । राजनीतिक दलहरुले पनि आफ्ना अभियान विद्यार्थी संगठनबाट जनतामाझ लैजान सहज बनेको थियो । यसकारण त्यसै समयदेखि राजनीतिक दलको भातृ संगठनको रुपमा विद्यार्थी संगठनको विकास भएको पाइन्छ । अहिले विद्यार्थीलाई राजनीतिक दललाई आफ्ना गतिविधि सञ्चालन गर्न विद्यार्थी संगठनको आवश्यकता नभए पनि दलहरुले विद्यार्थी संगठनलाई राजनीतिको गतिलो हतियार बनाइरहेका छन् । यसकारण स्ववियु निर्वाचनमा सहभागी विद्यार्थी संगठनहरु सबैजसो कुनै न कुनै राजनीतिक दलको भातृ संगठनको रुपमा परिचित छन् । निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनहरु एकल तथा संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

विद्यार्थी संगठनहरु सधैं परिवर्तनको पक्षधर रहने गरेका छन् । निर्वाचन प्रक्रियाबाट गठन हुने स्ववियुलाई क्याम्पसको अभिन्न अंगको रुपमा स्वीकार गरिएको छ । क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक उन्नयनका लागि स्ववियुले क्याम्पसमा हुने गतिविधिको अवलोकन गर्ने गर्दछ । क्याम्पस व्यवस्थापन, प्रशासन तथा प्राध्यापकहरुको सकारात्मक योजना र कार्यमा सहयोग गर्नु र गलत क्रियाकलाप र निर्णयको विरोध गर्नु स्ववियुको प्रमुख भूमिका हुन्छ । यसका लागि स्ववियुमा स्वतन्त्र र निष्पक्ष नेतृत्वको आवश्यकता हुन्छ । दलीय राजनीतिभन्दा माथि रहेर स्ववियुले समग्र क्याम्पसको विकास र विद्यार्थीको हकहितमा खबरदारी गर्नुपर्छ । यसका लागि सक्षम र योग्य उम्मेदवारलाई विद्यार्थीहरुले मतदान गरेर जिताउनु पर्छ । स्ववियु निर्वाचनमा क्याम्पसका सबै विद्यार्थी सहभागी भएर आगामी दुई वर्षका लागि स्ववियुको रुपमा विद्यार्थी नेतृत्व चयन गर्ने अवसरको सदुपयोग गर्नु पर्छ ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले नेतृत्व चयनमा धेरै पक्षमा विचार पुर्‍याउनु आवश्यक हुन्छ । विद्यार्थी र क्याम्पसको हितप्रति समर्पित हुनसक्ने विद्यार्थीमैत्री नेतृत्व चयनका लागि मतदान गर्न सक्नुपर्छ । निर्वाचन भनेको लोकतान्त्रिक विधिबाट प्रतिनिधि चयन गर्ने प्रणाली हो भन्ने कुरा निर्वाचनमा सहभागी विद्यार्थी संगठन र तिनका नेतृत्वले बुझ्नुपर्छ । निर्वाचनमा होमिएपछि कि जितिन्छ, कि हारिन्छ । जसरी पनि चुनाव जित्नैपर्छ भन्ने मान्यता राख्नु उचित होइन । निर्वाचनको समयमा हुने वैचारिक वा सांगठनिक प्रतिस्पर्धालाई स्वभाविक हो । निर्वाचनबाट आउने परिणाम सबैले स्वीकार गर्नुपर्छ । स्ववियुमा निर्वाचित हुनेले पनि आगामी दिनमा दलीय स्वार्थलाई भन्दा विद्यार्थी हकहित र क्याम्पसको शैक्षिक, भौतिक विकासमा बढी चासो दिनुपर्छ ।