हेटौंडा : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भइरहेको प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिमले निराशाजनक हार व्यहोरेको छ । लुम्बिनी प्रदेशसँग आइतबार भएको समूह चरणको चौथो खेलमा बागमती प्रदेको टिमले निराशाजनक हार व्यहोरेको हो । दाङ जिल्लाको लमही क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको छ । १ सय १६ रनको झिनो लक्ष्य पछ्याएको बागमती प्रदेशको टिम ६७ रन बनाउँदै अलआउट भएपछि बागमती प्रदेशले निराशाजनक हार व्यहोर्न बाध्य भएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको लुम्बिनीले ३२ ओभर ४ बलमा १ सय १५ रन बनाउँदै अल आउट हुन पुगेको थियो । लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले ५३ बलमा सर्वाधिक ३३ रन बनाएका थिए । मनिष थापाले ३५ बलमा र देव खनालले २७ बलमा समान १५–१५ रन बनाएका थिए । अन्य व्याट्सम्यानले दोहारो अंकको रन जोड्न सकेनन् । बागमती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै सूर्य तामाङ र इशान पाण्डेले समान २/२ विकेट लिएका थिए । मकवानपुरे खेलाडी रिजन ढकालले १ विकेट मात्र लिए ।
१ सय १६ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ्मा उत्रिएको बागमती प्रदेशको टिमले २२ ओभर ५ बलमा ६७ रन बनाउँदै सबै विकेट गुमाउनु परेको थियो । बागमतीका लागि ओपनिङ व्याटिङ गरेका आशुतोष घिरैयाले १५ बलमा ११ रन मात्र बनाए । कप्तान पृथु वास्कोटाले २५ बलमा १५ रन, सुमन सुनारले २८ बलमा ११ रन बनाए । बागमती प्रदेशका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका विप्रसन केसीले ६ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए भने अजय चौहानले ६ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए । निर्मल गुरुङले ५ ओभरमा १९ रन खर्चेर र रमेश कुर्मीले ५ ओभरमा १५ खर्चेर समान २/२ विकेट लिए । प्लेयर अफ द म्याच लुम्बिनीका विप्रशन केसी घोषित भएका छन् । समूह चरणको पहिलो खेलमा बागमतीको टिम सशस्त्र प्रहरी बलको एपीएफसँग, दोस्रो खेलमा आर्मीको टिमसँग पराजित भएको थियो भने तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । मंगलबार हुने समूह चरणको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।