राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा किशोर खत्रीलाई सर्वसम्मत चयन गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा किशोर खत्री चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको संगठनको आठौं अधिवेशनले किशोर खत्रीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अधिवेशनले खत्रीको अध्यक्षमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी युवा संगठनको पहिलो कार्यसमितिको बैठकले अन्य पदाधिकारीहरु जिम्मेवारी प्रदान गर्नेछ । संगठनको पहिलो बैठकले २ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको जिम्मेवारी प्रदान गर्ने खत्रीले बताउनुभयो । यसअघि अध्यक्ष खत्रीले संगठनको संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो । युवा संगठनको अधिवेशन आयोजना गर्ने गरी खत्रीलाई गत भदौ २५ गते संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने छ ।

अधिवेशनको उद्घाटन अध्यक्ष खत्रीको सभाध्यक्षमा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा राप्रपाका सहायक महामन्त्री प्रकाश रिमाल, बागमती प्रदेश सभा सदस्य ज्ञानुजंग लामा, केन्द्रीय संयोजक सुजित केसी र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।