प्याव्सन केन्द्रीय समिति उपाध्यक्षमा निर्वाचित आशिष श्रेष्ठ र सहकोषाध्यक्षमा निर्वाचित ग्रेस श्रेष्ठ ।

हेटौँडा : निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को केन्द्रीय उपाध्यक्षमा मकवानपुरका आशिष श्रेष्ठ र सहकोषाध्यक्षमा ग्रेस श्रेष्ठ निर्वाचित हुनुभएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहिबार सम्पन्न भएको प्याव्सनको १६ औं राष्ट्रिय महाधिवेशनबाट काठमाडौंकै कृष्ण अधिकारी अध्यक्षमा निर्वाचित हुनुहुँदा केन्द्रीय उपाध्यक्षमा मकवानपुरका आशिष श्रेष्ठ र सहकोषाध्यक्षमा ग्रेस श्रेष्ठ चयन हुनुभएको हो ।

प्याव्सन महाधिवेशनको उद्घाटन समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको थियो । उपाध्यक्षतर्फ जम्मा १४०७ वटा मत खसेकोमा ७७८ मत प्राप्त गर्दै आशिष खुल्लातर्फको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो भने ग्रेस सर्वसम्मत सहकोषाध्यक्षमा चयन हुनुभएको हो । यसअघिको कार्यकाल पनि आशिष उपाध्यक्ष र ग्रेस सहकोषाध्यक्षकै जिम्मेवारीमा रहनुभएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ । मकवानपुरबाट प्याव्सन महाधिवेशनमा ३२ जना प्रतिनिधि थिए ।

आशिष हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल स्कूलका संस्थापक हुनुहुन्छ भने गे्रस हेटौँडा–३, बसामाडीस्थित शिक्षा विकास शिशु सदनकी संस्थापक हुनुहुन्छ । आशिष प्याव्सन मकवानपुरको पूर्वअध्यक्ष र ग्रेस पूर्व प्रमुख सल्लाकार रहनुभएको अध्यक्ष विनोद सुवेदीले बताउनुभयो । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने छ ।