बल नियन्त्रणमा लिने प्रयास गर्दै

हेटौंडाः दशौं संस्करणको हेटौंडा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । बिहीबारबाट हेटौंडा–४, हुप्रचौरमा सुरु भएको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो ।

प्रतियोगिताको पहिलो खेलमा काठमाडौंको बानेश्वरी फ्रेण्डसीप भेट्रान्सले विजयी सुरुवात गरेको छ । साविक विजेतासमेत रहेको बानेश्वरी भेट्रान्सले वीरगञ्ज सिटी भेट्रान्स क्लबलाई १–० गोलले पराजित गरेको छ । बानेश्वरीको जीतम अन्तिम समयमा हरिहर खड्काले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गोलकर्ता खड्का नै घोषित भएका छन् ।

बिहीबार भएको दोस्रो खेलमा बौद्ध भेट्रान्स विजयी भएको छ । वीरगञ्ज युथ क्लबलाई २–० गोलले हराउँदै बौद्ध भेट्रान्स विजयी भएको हो । बौद्ध भेट्रान्सको तर्फबाट पहिलो हाफमा उमन मुक्तानले गोल गरेका थिए । दोस्रो हाफमा राजु परियारले गोल गरेका थिए । म्यान अफ द म्याच परियार घोषित भएका छन् ।

यस्तै, एबीसी भेट्रान्स र भुटनदेवी भेट्रान्सबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समय अवधि कम भएका कारण उक्त खेलको निर्णय शुक्रबार बिहान १० बजे ट्राइबे्रकरबाट हुनेछ । प्रतियोगिता देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार रुपैयाँ, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हेटौंडा भेट्रान्स क्लबका संयोजक नवराज बज्राचार्यको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, ११ नम्बर वडा अध्यक्ष जुना दहाल, अखिन नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको आतिथ्य रहेको थियो ।