हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका एक दम्पत्ति आफ्नै छोराको हत्याको अभियोगमा पक्राउ परेका छन् । फागुन १५ गते राती ८ बजेको समयमा इन्द्रसरोवर–३, अदुवाबारीस्थित आफ्नै घरमा खाना खाँदै गरेका ६३ वर्षीय मीन बहादुर भ्लोन र ६४ वर्षीय देवीमाया भ्लोनमाथि धुलो छर्केर आक्रमण गरेका ३९ वर्षीय भरथकुमार दम्पत्तिको प्रतिकारमा गम्भीर घाइते भएका थिए । मास्क लगाएर आएकाले नचिनेर भ्लोन दम्पत्तिले आफ्नै जोठो छोरा भरथकुमारलाई गम्भीर हुने गरी प्रतिकार गरेका थिए । भरथकुमारको उपचारको क्रममा फागुन १६ गते दिउँसो १ बजेर ४५ मिनेट मृत्यु भएको थियो ।
झडपमा घाइते भएका भ्लोन दम्पत्ति उपचारका लागि भक्तपुरस्थित अस्पतालमा थिए । प्रहरीको निगरानीमै उपचाररत भ्लोन दम्पत्ति मंगलबार अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले पक्राउ गरेको हो । भक्तपुरबाट मंगलबार अबेर राती जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्ने क्रममा भ्लोन दम्पत्तिले नचिनेर प्रतिकार गरेको बताएको प्रहरीले जनाएको छ ।
ज्यान सम्बन्धी कसुरमा भ्लोन दम्पत्तिलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट अनुमति पाएको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।