हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौंमा जारी बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मंगलबार मकवानपुरले काठमाडौंलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । काठमाडौंले दिएको २ सय ३२ रनको लक्ष्य ४१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाउँदै मकवानपुर फाइनल प्रवेश गरेको हो ।
मकवानपुरका शुभ कंशाकारको विष्फोटक व्याटिङसँगै मकवानपुरले काठमाडौंविरुद्ध जित दर्ता गरेको हो । शुभ कंशाकारले ३९ बलमा ७३ रन बनाए । कंशाकार म्यान अफ द म्याच घोषित भए । मकवानपुरको जितमा कप्तान सुमन सुनारले पनि ५७ बलमा ५१ रन बनाए । काठमाडौंस्थित मूलपानी रंगशालामा पहिलो इनिङ्समा काठमाडौंले ४७ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय ३१ रन जोड्न सफल भएको थियो । काठमाडौंका लागि सोनु देवकोटा र पृथु बास्कोटाले अर्धशतक पूरा गरेका थिए । सेमीफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले मकवानपुरलाई २ सय ३२ रनको लक्ष्य दिएको थियो ।
मकवानपुरले अब प्रदेशस्तरीय प्रतियोगिताको उपाधिका लागि चितवनको सामना गर्नेछ । मकवानपुरले चितवनलाई समूह चरणको दुबै खेलमा पराजित गरेको थियो । मकवानपुर समूह चरणमा अपराजित रहँदै सेमीफाइनल प्रवेश गरेको थियो । यसअघि सोमबार भएको खेलमा ललितपुरले चितवनलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।