हेटौँडा : स्वीस नागरिक भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक हेटौँडामा अनावरण गरिएको छ । मंगलबार बिहान टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगनसहित हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, निवर्तमान नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा डा. टोनी हेगनको अर्धकदको शालिक अनावरण गरिएको हो ।
हेटौँडामा मानव वस्तीको परिकल्पना गर्नुभएका डा. हेगनको सम्मानमा हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन पार्क नै निर्माण गरेको छ । टोनी हेगन पार्कमै अर्धकदको शालिक निर्माण गरिएको हो । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफलमा टोनी हेगन पार्क निर्माण गरिएको छ । टोनी हेगनकी छोरी नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो ।
हेगनको शालिक हेटौँडाकै मूर्तिकार लक्ष्मण भुजेलले निर्माण गर्नुभएको छ । ६ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको हो । टोनी हेगन पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ । पार्क निर्माणमा हेटौँडा उपमहानगरपालिका, १० नम्बर वडा कार्यालय, बागमती प्रदेश सरकार मातहतका मन्त्रालयहरु, संघीय संसदको सांसद विकास कोष, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयको बजेट खर्च गरिएको छ ।