हेटौँडा : द इन्फेरियर ब्यान्डले आफ्नो पहिलो अफिसियल म्युजिक भिडियो ‘अझैपनि’ सार्वजनिक गरेको छ । सोमबार नारायणी मलस्थित एनएस सिनेमा हलमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अझैपनि’ प्रेम, बिछोड र सम्झनाको भाव बोकेको गीत रहेको छ ।
कार्यक्रममा द इन्फेरियर ब्यान्डका अध्यक्ष सञ्जिव सिंह वाईबाको अध्यक्षता तथा वरिष्ठ संगीतकार एवम् गायक लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियोे । सन्ध्या आचार्य र राजन थापाले ‘अझैपनि’ म्युजिक भिडियोमा मुख्य भूमिका निर्वाह गर्नुभएको छ । यस्तै, बाल कलाकार अमिक्षा घतानीको पनि अभिनय रहेको छ ।
गीतको शब्द र संगीत स्वयम् इन्फेरियर ब्यान्डका सदस्यहरुले तयार पारेका हुन् । भिडियो इन्फेरियर ब्यान्डको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक टुल्कुबहादुर लामा, बाबु क्षेत्री, संगीतकर्मी विजय कार्की, अभिनेता अमिर गौतमलगायतको आतिथ्य रहेको थियो ।