इन्द्र बानियाँ मकवानपुरमा चिनाई रहनु पर्ने नाम होइन । यी नेपाली राजनीतिमा चर्चामा आइरहने नेता हुन् । विशेषगरी मकवानपुर कर्मथलो रहेका बानियाँ पटक–पटक सांसद र मन्त्री भइसकेका व्यक्ति हुन् । मकवानपुरको राजनीति उनको वरिपरि घुम्ने गरेको देखिन्छ । पछिल्लो समय, यिनी जुन क्षेत्रबाट लडे पनि हराउन सकिँदैन भन्ने कथन छ । नेपाली कांग्रेसको तरुण दलको सभापति, नेपाली कांग्रेसको मकवानपुर जिल्ला सभापति हुँदै बागमती प्रदेशको अध्यक्ष रहेका बानियाँ राजनीतिका कुशल खेलाडी हुन् ।

राष्ट्रिय राजनीतिमा भन्दा पनि उनको वास्तविक शक्ति स्थानीय राजनीतिमा देखिन्छ । पूर्व गृह राज्यमन्त्री समेत भइसकेका बानियाँ स्थानीय राजनीतिक जोडघटाउमा चतुर छन् । पछिल्लो समय गठबन्धन, पार्टीभित्रको सन्तुलन, आफ्नो अनुकूलता हेरेर यिनको समर्थन जसले पाउँछ, उसले चुनाव जित्छ; जसले पाउँदैन, उसको पराजय निश्चित जस्तै हुन्छ । कांग्रेस मकवानपुर पार्टीभित्रको जोडघटाउका कारण यिनी पार्टीभित्र सर्वसम्मत छैनन् । मकवानपुरको राजनीतिमा उनले आफ्नो पकड बलियो बनाउन माओवादी केन्द्र र अन्य दलहरूसँग सहकार्य गर्ने नीति अपनाएका छन् ।

बानियाँको राजनीतिक शैलीलाई ‘व्यावहारिक शक्ति सन्तुलन’ भन्न सकिन्छ । उनी विचारधारात्मक रूपमा कठोर छैनन्, बरु सत्ता समीकरण मिलाएर आफू र आफ्ना समूहलाई सुरक्षित राख्ने खालको राजनीतिमा विश्वास गर्छन् । उनी प्रत्यक्ष रूपमा आन्दोलनमुखी नेता नभए पनि, मकवानपुरको राजनीति कसरी अघि बढ्छ भन्ने कुरामा उनी नै निर्णायक छन् । उनी राजनीतिक रूपमा व्यावहारिक देखिन्छन् भने, सञ्जाल निर्माणमा कुशल र सत्ता सन्तुलन कायम गर्न माहिर नेता मानिन्छन् ।

यति हुँदाहुँदै पनि यिनले गत निर्वाचनमा आफ्नै पार्टीका नेतालाई अन्तरघात गरेर हराएको आरोप छ । टिकटको होडबाजी, पार्टी अध्यक्षको निर्वाचनदेखि नै मकवानपुर कांग्रेस इन्द्र बानियाँ–डिना समूहमा विभक्त छ । त्यसपछिका निर्वाचनहरूमा कांग्रेसले कांग्रेसलाई हराउन उद्दत देखियो । कांग्रेसभित्रको यही यदुवंशी लडाइँले सबैलाई ठूलो नोक्सानी पु¥यायो । विवादरहित रूपमा मुख्यमन्त्री हुनुपर्ने बानियाँलाई मुख्यमन्त्री हुनबाट रोक्ने काम भयो । मकवानपुरले मुख्यमन्त्री गुमायो ।

इन्द्र बानियाँ मुख्यमन्त्री हुँदा मकवानपुरलाई घाटा थिएन । जसरी डोरमणि पौडेल मुख्यमन्त्री भएको कारणले बागमती प्रदेशको राजधानी हेटौंडा भएको सबैलाई सर्वविदितै छ । गणित र संख्याको आधारमा हेटौंडा राजधानी हुन असम्भव थियो । डोरमणि सरको पहलकदमी यस मानेमा प्रशंसायोग्य छ । मकवानपुरको मुख्यमन्त्री भएको फाइदा हो यो । त्यस्तै, इन्द्र बानियाँ भएको भए सायद राजधानी अनुकूलको पूर्वाधार निर्माण हुन सक्थ्यो ।

हेटौंडा राजधानी त भयो, तर त्यस अनुरूपको संरचना बन्न सकेको छैन । त्यसैले होला, पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आफू मुख्यमन्त्री हुँदा राजधानी सार्ने उद्घोष गरेका थिए । आखिर किन राजधानी भएको स्थानमा स्थायी संरचना बनाउन ढिलासुस्ती भइरहेको छ ? संघीयताप्रति नै विश्वास नभएर पक्कै होइन होला । मकवानपुरवासीलाई यहीँको जनप्रतिनिधि, मन्त्री, मुख्यमन्त्री हुँदा विकासको कामले तीव्रता पाउँछ भन्ने नै हो । इन्द्र बानियाँले यो मौका गुमाउनु भयो । एकातिर चुनावी गठबन्धन रहँदा रहँदै पनि यिनले अघोषित रूपमा अर्को गठबन्धन बनाए, जुन राजनीतिक रूपमा बिल्कुलै बेठिक थियो । राजनीतिक घटनाक्रमहरूले पनि ती कदम गलत सावित गरिदिए ।

तर, यिनले जिताउन चाहेको व्यक्ति चुनाव भने सजिलै जित्दै आएको देखियो । पछिल्लो १२ नम्बर वडाको उपनिर्वाचनको परिणामले पनि यो कुरालाई पुष्टि गरेको छ । इन्द्र बानियाँको अर्को बलियो पक्ष भनेको ‘स्थानीय स्रोतसाधन’ व्यवस्थापन हो । मकवानपुरको ठेक्का प्रणाली, उद्योग, व्यापार र विकास परियोजनाहरूमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहेको देखिन्छ । यिनी स्थानीय ठेकेदार, व्यवसायी र शक्ति केन्द्रहरूसँग राम्रो सम्बन्ध बनाउन सक्षम छन्, जसले उनलाई आर्थिक र राजनीतिक रूपमा सशक्त बनाएको छ । मकवानपुरमा निर्माण क्षेत्रमा संलग्न व्यवसायीहरूसँग उनको राम्रो सम्बन्ध रहेको चर्चा चल्ने गर्छ । उनले व्यापार, व्यवसाय तथा अन्य पूर्वाधार विकासका काममा प्रत्यक्ष रूपमा प्रभाव राख्ने गरेको छ भनिन्छ । यसले उनी राजनीतिक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि बलियो सञ्जाल बनाउन सफल भएको देखिन्छ ।

यही कारण हो, इन्द्र बानियाँको प्रभाव निर्वाचनमा देख्न सकिन्छ । नेपालको स्थानीय राजनीतिमा नेताहरूको व्यक्तिगत प्रभाव अत्यन्त महत्वपूर्ण हुन्छ । इन्द्र बानियाँ जस्ता नेताले जसलाई समर्थन गर्छन्, त्यसले चुनाव जित्ने सम्भावना उच्च हुन्छ । यसको पछाडि तीनवटा कारण छन् । पहिलो, स्रोतसाधनको पहुँच । बानियाँको समर्थन पाउने उम्मेदवारले आर्थिक, राजनीतिक र व्यवस्थापकीय लाभ पाउने गर्छ । चुनाव जित्नका लागि स्रोतसाधन आवश्यक हुन्छ, र बानियाँको समर्थन पाउने उम्मेदवारलाई यो सजिलै उपलब्ध हुन्छ । दोस्रो, स्थानीय सत्ता सञ्जाल । मकवानपुर कांग्रेसभित्र बानियाँ समूह बलियो छ, जसले उनी समर्थन गर्ने उम्मेदवारलाई संस्थागत रूपमा बलियो बनाउँछ । पार्टीको निर्णय प्रक्रियामा उनको प्रभाव रहने भएकाले, जसले उनको साथ पाउँछ, उसले संगठनात्मक रूपमा पनि लाभ उठाउँछ ।

तेस्रो, व्यवहारिक राजनीतिक कूटनीति । इन्द्र बानियाँ आवधिक रूपमा गठबन्धन परिवर्तन गर्न सक्ने नेता हुन् । जबसम्म उनी स्वयं सशक्त छन्, तबसम्म उनी आफ्नो समीकरण मिलाउन माहिर देखिन्छन् । तर, जसले बानियाँको समर्थन गुमाउँछ, उसले न पार्टीभित्र समर्थन पाउँछ, न बाहिरी स्रोतसाधन । फलस्वरूप, उसले चुनावमा पराजय भोग्ने सम्भावना उच्च रहन्छ । इन्द्र बानियाँको राजनीतिक प्रभाव व्यापक भए पनि, उनको शैली आलोचनाबाट मुक्त छैन । एकातिर, उनले नेपाली कांग्रेसलाई मकवानपुरमा सशक्त बनाएका छन्, स्थानीय विकास परियोजनामा सक्रिय भूमिका खेलेका छन्, र पार्टीभित्र सहमतिको राजनीति गर्न खोजेका छन् । अर्कोतिर, उनको शक्ति केन्द्रित शैली, गुटबन्दी प्रवृत्ति र व्यावसायिक राजनीतिसँगको नजिकपनले उनलाई विवादित बनाएको छ । उनको सबैभन्दा ठूलो कमजोरी भनेको गुटबन्दी संस्कृति हो । पार्टीभित्र शक्ति सन्तुलन राख्ने नाममा उनले आफ्ना मानिसहरूलाई मात्र अगाडि बढाउने गरेको आरोप छ । यसले नयाँ पुस्ताका नेताहरूलाई पछाडि धकेल्ने काम गरेको छ ।

इन्द्र बानियाँको राजनीतिक शैलीले उनलाई मकवानपुरमा एक प्रमुख शक्ति केन्द्र बनाएको छ । जसले उनको समर्थन पाउँछ, उसले लाभ उठाउँछ; जसले पाउँदैन, ऊ कमजोर बन्छ । उनले आफ्नो प्रभावशाली शक्ति संरचनालाई प्रयोग गर्दै स्थानीय राजनीतिमा निर्णायक भूमिका खेलेका छन् । तर, यो शैली दीर्घकालीन रूपमा सफल रहन्छ कि रहँदैन, त्यसको मूल्याङ्कन समयले गर्नेछ । अबको चुनौती भनेको, उनी आफ्नो शक्ति प्रयोग गरेर पार्टीभित्र नयाँ नेतृत्वलाई स्थान दिने कि व्यक्तिगत प्रभावलाई निरन्तर बलियो बनाउने भन्ने हुनेछ ।

यदि उनले नयाँ पुस्तालाई अवसर दिन्छन् र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनेतर्फ ध्यान दिन्छन् भने, उनको राजनीतिक प्रभाव दीर्घकालीन हुन सक्छ । तर यदि उनी गुटबन्दीमा मात्र सीमित रहन्छन् भने, आगामी पुस्तामा उनको प्रभाव घट्दै जाने सम्भावना रहन्छ । ईन्द्र बानियाको आगामी राजनीतिक चुनौतिपूर्ण छ । एकातिर सिङ्गै कांग्रेसको लोकप्रियता बढ्दो छैन । एमालेसँगको गठबन्धनपछि कांग्रेस पनि बदनाम भएको छ । अझ भ्रष्ट्राचारको आरोपले कांग्रेस–एमाले दुबैलाई २०८४ को निर्वाचन भारि पर्ने देखिन्छ ।

आउँदो २०८४ मा इन्द्र बानियाको जादू फेरि चल्छ त पक्कै चल्दैन, यहि निर्वाचनमा त केहि स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता नगरेको भए चुनाव हार थियो नै, आछ्चू आछ्चू परेको अवस्था हो । तर आगामी निर्वाचनको ट्रेण्ड अर्कै हुन सक्छ । कांग्रेस–एमालेको विकल्प खोजिन सक्छ, स्वतन्त्रको लहर आउन सक्छ । जे पनि हुन सक्छ त्यस्तो अवस्थामा इन्द्र बानियाँको चलाखीले अब काम नगर्ला, फेरि कति पटक भोट हालिरहने भन्ने प्रश्न आउला । राजनीतिले सक्षम अनुहार खोजेको छ । मकवानपुरले पनि खोजेको छ । कमल थापा, डिना, बिरोध खतिवडा, डोरमणि, अनन्त, इन्द्र बानिया, छिन्तु, कुमारी यि यस्ता मकवानपूरका चर्चित अनुहार हुन् । यिनलाई भोट हाल्दा हाल्दा जनता दिक्क भैसकेका छन् । कति पटक उठ्ने, यिनलाई सम्मान गरौं । अब नयाँ पुस्ताका नयाँ अनुहार महेश बर्तौला यसका उदाहरण हुन् । नयाँ पढेका, देश बनाउने हुटहुटी भएकाहरू अबको जनताको रोजाई बन्नुपर्छ ।

यो आलेखमा इन्द्र बानियाँको चर्चा गरियो । उहाँप्रति यो लेखकको सम्मान छ । अब कांग्रेसलाई घात अन्तरघातबाट माथि उठाउनुस् । हिजो सँगै काम गरेका साथी आनन्द पराजुली जस्ता व्यक्ति अनाहकमा पार्टी भित्रको बेमेलले पटक पटक निर्वाचन हार्न विवश भएका छन् । आफ्नै साथी हार्दा खुसी हुनुपर्ने यदुवंशीय लडाईको अन्त्य अबिलम्ब गर्नुस् । फल भएको रूख झुक्छ, तपाईले कांग्रेस मिलाउनुस्, अपवित्र साँठगाँठक गरेर भोट अन्य पार्टीलाई खन्याउने कामले आफ्नै कार्यकर्ताको मनोबल कमजोर हुन्छ । तपाईलाई मूख्यमन्त्रीमा रोक्दा पनि कार्यकर्ता र मकवानपुरवासी पनि निराश भएका थिए ।

२०८४ को निर्वाचनमा कांग्रेस एक भएर उभिएको हेर्न मन छ । मानिसहरू भन्छन्, चन्द्रले पनि हराउन नसकेको इन्द्र, के २०८४ मा त्यो सम्भव होला ? प्रतीक्षा गरौं । गगन नै सभापति भएर आए कांग्रेसमा नयाँ रक्तसञ्चार हुन्छ नै । त्यसले देशव्यापी प्रभाव बढाउँछ नै । त्यस पृष्ठभूमिमा मकवानपुर कांग्रेसमा पनि नयाँ उत्साह थपिन्छ नै । इन्द्र बानियाँले अब उदारता देखाउन जरुरी छ । मकवानपुरमा पार्टीलाई तपाईँको नेतृत्वमा नयाँ शिराबाट अगाडि बढाउनुहोस् । हाम्रो शुभकामना छ । अस्तु ।