हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–८, बस्तिपुरमा शनिबार आएको हावाहुरीले स्कुल र घरमा क्षति पुगेको छ । हावाहुरीले नमोबुद्ध आधारभूत विद्यालयको छानो उडाएको छ । यस्तै स्थानीय सुवास लोप्चनको घरको छानो उडाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्ताले छाएको छानो उडाएको हो । गाउँपालिकाको सहयोगमा २०७७ सालमा निर्माण गरिएको भवनको छानो उडाएको विद्यालयकी प्रधानध्यापक निर्जला गोलेले जानकारी दिनुभयो । हुरीका कारण आधा जस्तापाता काम नलाग्ने भएको छ । हुरीले छानो उडाएपछि कक्षाकोठा अभाव भएको उहाँले बताउनुभयो ।
कक्षाकोठा अभाव भएका कारण सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको सहयोगमा एक हप्ताभित्र छानो हालेर नियमित पठनपाठन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । ३ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ४९ जना विद्यार्थी अध्ययनरत छन् ।