हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले स्थापना गरेको श्रमिक क्रियाशील विद्यार्थी समूहले सेवानिवृत्त शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । अनिवार्य अवकास पाउनुभएका शिक्षक सुरेश महतो, स्वेच्छिक अवकास लिनुभएकी शुभद्रा पाण्डे र कार्यालय सहयोगी अर्जुन रिजाललाई शुक्रबार समूहको छैठौं वार्षिक साधारणसभाको अवसरमा दोसल्ला ओढाएर सम्मान गरेको छ ।
समूहकी अध्यक्ष सपना लामाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक श्रीराम दहालको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा भएको हो । विद्यालय जीवनमा आफूहरुलाई महत्वपूर्ण ज्ञान, शिक्षा प्रदान गरेको भन्दै सेवानिवृत्त शिक्षक र सहयोगी कर्मचारीलाई सम्मान गरिएको हो । श्रमिक क्रियाशील विद्यार्थी समूहले श्रमिक माविमा स्थापनाकालदेखि नै सहयोग गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको समूहले हालसम्म १ सय २१ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयको पूर्वप्राथमिक कक्षा विस्तार गर्न ५० हजार रुपैयाँ सहयोग गरेको समूहले विद्यालयको अक्षयकोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । शुक्रबार नै समूहले छैठौं वार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ ।
साधारणसभाको अवसरमा समूहले विद्यालयमा वार्षिक ३ वटा अतिरिक्त क्रियाकलापका लागि प्रायोजकको भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी गराएको छ । समूहले आफू पढेको विद्यालयमा कुनै पनि विद्यार्थीले शैक्षिक सामग्री र शिक्षण शूल्क तिर्न नसकेकै कारण पढाईबाट बञ्चित हुन नपरोस् भनी सहयोग गरिरहेको अध्यक्ष सपना लामाले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानाध्यापक श्रीराम दहालले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुहुँदै आगामी शैक्षिकसत्रका लागि कक्षा–९ मा अंग्रेजी माध्यमको कक्षा र पूर्वप्राथमिक तहको एउटा कक्षा सञ्चालन गर्न कक्षाकोठाको अभाव हुने अवस्था आएको जानकारी दिनुभयो ।
विद्यालयप्रति अभिभावक, समुदायको विश्वास बढ्दै गएको जानकारी दिनुहुँदै प्रधानाध्यापक दहालले ४ तल्लाको १८ कोठे निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो । उहाँले पूर्वविद्यार्थी विद्यालयको सम्पत्तिको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा श्रमिक पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।