उपाधिसाथ कैलाश गाउँपालिका १० नम्बर वडाको टिम ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा भएको दोस्रो संस्करणको गाउँपालिकास्तरीय अन्तर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर–१० ले जितेको छ । शनिबार कैलाश–९ स्थित लामिटार खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ८ लाई सड्नडेथमा हराउँदै साविक विजेता समेत रहेको वडा नम्बर–१० ले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा दुबैतर्फका ५–५ जना खेलाडीले गोल प्रहार गर्दा कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन । त्यसपछि सडनडेथमा १० नम्बर वडाले विजयी गोल गर्न सफल भएको हो । म्यान अफ द म्याच १० नम्बर वडाका गोलरक्षक विशाल वाईबा घोषित भए ।

प्रतियोगिताको उपाधि विजेता १० नम्बर वडाको टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले ६० हजार रुपैयाँ प्राप्त गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ७ लाई २–० गोलले हराउँदै १० नम्बर फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा ५ नम्बरलाई १–० गोलले हराउँदै ८ नम्बर फाइनलमा प्रवेश गरेको थियो ।

कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको पनि आतिथ्य रहेको थियो ।