हेटौंडाः त्रिभूवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको भैंसेमा आज बिहान घाइते अवस्थामा एउटा वयस्क चितुवा भेटिएको छ । डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत इमनाथ पौडेलका अनुसार घाइते चितुवालाई उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ ।
करिब ४ वर्षको चितुवाको बायाँ आँखा र पेटमा चोट लागेको छ । बिहान ११ बजेको समयमा पुगेको डिभिजन वन कार्यालय मकवानपुरको टोलीले घाइते चितुवाको उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको हो । चितुवा कसरी घाइते भयो भन्ने विषय निकुञ्जका प्राविधिक टोलीले उपचार सुरु गरेपछि थाहा हुने वन अधिकृत पौडेलले बताउनुभयो ।