तस्वीरः सुसन लामिछाने

हेटौंडाः हेटौंडा उपमहानगरपालिको आर्थिक वर्ष २०७७/७८ को बार्षिक कार्यत्रम तथा योजनाहरुमा सामाजिक विकास तर्फ खेलकुद तथा मनोरञ्जनको लागि ९८ लाख अनुमानित बजेट बराबरको योजना पेश भएको छ । हेटौडा उपमहानगरपालिकाको २०७७ साल असार १० गते भएको सातौं नगरसभाको बैठकमा यी योजनाहरु पेश भएका छन् । खेलकुद तथा मनोरञ्जनको लागि पेश योजनाहरुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थानीय तहस्तरीयका लागि १ लाख बजेट अनुमान गरिएको छ ।

त्यस्तै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि ३ लाख, जिल्ला युवा समितिको संस्थागत सुदृढिकरण डकुमेन्ट्रीहरुका लागि ३ लाख, स्थानीय तह शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा १५ लाख, मेयर कप फुटबल प्रतियोगितामा १० लाख, खेलकुद प्रतियोगिता आयोजनाका सहकार्यमा ७ लाख, खेलाडी सहभागिता सहकार्य (अन्यत्र आयोजना हुने प्रतियोगिता) मा ४ लाख, खेलाडी सम्मान तथा पुरस्कारमा २ लाख, व्यायमशाला तथा योगाभ्यास पूर्वधार तथा सामग्री सहयोगमा ५ लाख, खेलकुद मैदान पूर्वाधार निर्माण सहकार्यमा २१ लाख रहेका छ ।

खेलकुद मैदान पूर्वाधार निर्माण सहर्कायमा प्रतिवडा ३ लाख पाउनेमा हेटौडा नगरका वडाहरु १, १२, १४, १५, १७, १८ र १९ नम्बर रहेका छन् । यस्तै खेदकुद सामग्री खरिद तथा व्यवस्थापनमा ३ लाख, मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन सहयोग सहकार्यमा २ लाख, बालउद्यान तथा पार्क पूर्वाधार निर्माण सहकार्यमा प्रतिवडा ३ लाख गरी वडा नम्बर ५, ६, ७, ८ र १६ को लागि १५ लाख, खेलाडी आचारसंहिता (एनटी डोपिङ सम्बन्धी) अनुशिक्षणका लागि १ लाख, अन्तरपालिका बुद्धिचाल प्रतियोगितामा २ लाख र हेटौंडा रन आयोजना सहकार्यमा ४ लाख रकम आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुमानित बजेट रहेको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा खेलकुदतर्फ हेटौंडा–८ को चन्द्रोदय माविमा प्यारापिट सहितको खेलकुद प्रशिक्षण केन्द्रको निर्माण कार्य गर्न २ करोड ५० लाख र हेटौंडा–४ स्थित कभर्ड हलको बाँकी निर्माण कार्यका लागि १ करोड रुपैयाँ रकम बजेट बिनियोजन गरेका छ ।