प्रधानमन्त्री कप क्रिकेट सहभागी हुने खेलाडीहरुको तस्वीर ।

हेटौंडा : बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुन लागेको प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीको बिदाइ गरिएको छ । सोमबार हेटौंडा–४ स्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा खेलाडीको बिदाइ गरिएको हो ।

आज मंगलबारबाट सुरु हुने प्रधानमन्त्री कप क्रिकेटको प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुरले चितवन जिल्लाको क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । बिदाइ कार्यक्रममा खेलाडीसहित टिम म्यानेजर र प्रशिक्षकलाई जर्सी प्रदान गरिएको छ । हाल बेलायतमा रहेका मकवानपुरका पूर्वराष्ट्रिय खेलाडी राजन पाण्डेले १६ वटा जर्सी प्रदान गर्नुभएको मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले बताउनुभयो ।

जिल्लास्तरीय छनोट प्रतियोगिता गरेर प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी सहभागी गराइएको उहाँले बताउनुभयो । जिल्लाका ६ वटा टिमबीच प्रतिस्पर्धा गराएर खेलाडी छनोट गरिएको थियो । मकवानपुर जिल्ला क्रिकेट संघले प्रदेशस्तरीय छनोटमा सहभागी हुने १४ जना खेलाडी छानेको हो । प्रदेश छनोटमा मकवानपुरसहित चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाको टिम सहभागी हुने उहाँले बताउनुभयो ।

खेलाडी बिदाइ कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष करण महतरा क्षेत्री, कोषाध्यक्ष धिरज श्रेष्ठ र सदस्य संजोक पोखरेलको उपस्थिति रहेको थियो ।