खेलकुद विकास समितिले सार्वजनिक गरेको निर्णय

हेटौंडा : १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १८ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको बैठकको निर्णयअनुसार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १८ देखि २० गतेसम्म गरिने अध्यक्ष राजकुमार मुक्तानले बताउनुभयो ।

प्रतियोगिता हेटौंडा–४, हुप्रचौरमा बिहान ८ बजेबाट सुरु हुनेछ । प्रतियोगितमा सहभागी हुनका लागि १८ वर्षभन्दा कम उमेर समूहका खेलाडीहरु हुनुपर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले बताउनुभयो ।

प्रतियोगितामा मकवानपुरको पालिकाभित्रका खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहनेछ । प्रतियोगितामा एथ्लेटिक्स, कबड्डी, भलिबल, कराँते, उसु, तेक्वान्दोलगायतका खेलहरु सञ्चालन हुनेछ । कराँते, उसु, तेक्वान्दो हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कर्भड हलमा, एथ्लेटिक्स हुप्रचौरमा र भलिबल हुप्रचौरको भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्यपदक सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता र तृतीय हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । गत वर्ष सम्पन्न भएको १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको थियो । हेटौंडाले २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा काँस्य पदक प्राप्त गर्दै उपाधि जितेको थियो । बकैया गाउँपालिकाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा काँस्य पदक प्राप्त गर्दै द्वितीय र थाहा नगरपालिकाले ७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा काँस्य पदक प्राप्त गरेर तृतीय भएको थियो ।

गत वर्षको प्रतियोगितामा मकवानपुरको १० वटा पालिकाबाट ७ सयको हाराहारीमा खेलाडीको सहभागिता रहेको थियो । जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् । जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।