फाइल तस्विर

हेटौंडाः प्रहरीलाई नै घुस दिन खोज्ने एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुकी ८ बजेको समयमा हेटौंडा–२ संगमचोकमा वडा प्रहरी कार्यालयबाट पकेट ड्युटीमा खटिएको प्रहरीलाई नदिजन्य पदार्थ बालुवा लोड गरेर ल्याएको ट्याक्टरका चालक हेटौंडा–१ का ४३ वर्षीय सञ्जय लामाले एक हजार रुपैयाँ घुस रकम दिने प्रयास गरेपछि लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले लामासँगै लामाले चलाएको ना ५ त ८४३२ नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । लामाले ट्याक्टरमा लोड गरी ल्याएको नदिजन्य पदार्थ बालुवा पनि अवैध रुपमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

बढी भाडा लिनेलाई कारवाही
हेटौंडाः यात्रुसँग बढी भाडा लिने भाडाका सुमोलाई मकवानपुर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त जाँचटोलीले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ को विभिन्न स्थानमा हेटौडाबाट काठमाडौंतर्फ जाने भाडाका सुमोहरुले यात्रुसँग बढी भाडा लिएको पाइएकोले नियन्त्रण लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले प्र.३–०३–००१ ज ००२८, प्र.३–०३–००१ ज ००१८, ना १ ज २५०५ र ना १ ज ७३१८ नम्बरका सुमोहरुलाई नियन्त्रणमा लिई बढी लिइएको भाडा फिर्ता गरी सुमो चालकलाई कानून अनुसारको कारवाही गरिएको जनाएको छ ।