हेटौंडा : हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट प्रालिले कामबाट निकालेको भन्दै श्रमिकले आन्दोलन गरेका छन्् । उद्योगले तमसुक पत्रमा हस्ताक्षर नगरिएको भन्दै ९७ जना श्रमिकको रोजगारी कायम नगर्ने सूचना जारी गरेपछि श्रमिक आन्दोलित भएका हुन् ।
गत माघ १४ गते उद्योगले सूचना प्रकाशित गर्दै ९७ जना श्रमिकको रोजगारी कायम नगर्ने जनाएको थियो । समग्र उद्योग टे«ड युनियन नेपाल केन्द्रीय कमिटी र जिफन्ट बागमती प्रदेश कमिटीले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर श्रम ऐन २०७४ को गम्भिर उल्लंघन भएको भन्दै खेदप्रकट गरेको छ ।
पटक–पटक ध्यानाकर्षण गराउँदा पनि जारी गरिएको सूचना फिर्ता नगरेपछि श्रमिक आन्दोलनमा उत्रन बाध्य भएको जिफन्ट बागमती प्रदेश कमिटीका अध्यक्ष रामहरि नेपालले जानकारी दिनुभयो । फागुन १ गतेबाट शान्तिपूर्ण आन्दोलन गरिए पनि कुनै सुनुवाई नभएपछि बुधबार श्रम शोषणको विरुद्व विरोध तथा खबरदारी सभा आयोजना गरिएको उहाँले बताउनुभयो । व्यवस्थापन पक्षले गैरकानुनी तबरले अनुचित श्रम अभ्यास गरेको श्रमिकहरुको आरोप छ ।
५ वर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परीक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएकोे जिफन्टका बागमती प्रदेश अध्यक्ष नेपालले बताउनुभयो । ४ सय कामदार कर्मचारीमध्ये एक सय १० जना श्रमिकलाई विगत ५ वर्षदेखि नियमित प्रकृतिको काममा लगाएको छ । तर समयगत कामको रोजगार सम्झौता गरी काममा लगाएको भन्दै गत साउन ९ गते व्यवस्थापनसमक्ष नियमित रोजगार सम्झौता गरी समान पारिश्रमिकको व्यवस्था गर्न निवेदन पेश गरिएको थियो । २०८० फागुन १ गतेदेखि २०८१ माघ २९ गतेसम्म लागू हुने गरी समयगत रोजगारीमा नियुक्ति प्रदान गरिएको थियो । सोहीबमोजिम माघ २९ गतेबाट समय समाप्त भएको भन्दै रोजगारीबाट निष्कासित गरेकोमा ध्यानाकर्षण भएको बताइएको छ ।