हेटौंडा : हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा सञ्चालित दोस्रो खेलकुद महोत्सव अन्तर्गत सोमबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा क्याम्पसको सहव्यवस्थापनमा वडाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीबीच भएको वक्तृत्वकलामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका धिरज यादव प्रथम भएका छन् ।
प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका नितेश साह द्वितीय र हेटौंडा क्याम्पसका नवीन राउत तृतीय भएको हेटौंडा क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो । ‘लोकतन्त्रको सुढृढीकरणमा राजनीतिक दलको भूमिका’ विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा क्याम्पस, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका ९ जना विद्यार्थीको सहभागिता थियो ।
प्राध्यापक घनश्याम घिमिरे र शिक्षक भावना सापकोटाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको थियो । कार्यक्रममा ४ नम्बर वडा सदस्य गीता त्रिपाठी, शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहाल, क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख देवीराम लामा, ४ नम्बर वडाका सचिव पुष्पराज पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाललगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई फागुन ७ गते दिउँसो रोयल प्यालेस हेटौंडामा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रममा पुरस्कार प्रदान गरिने पोखरलले जानकारी दिनुभयो ।