हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको दोस्रो खेलकुद महोत्सव अन्तर्गत नगरस्तरीय प्रतियोगिताहरु सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको क्रिकेट र सेभेन ए साइड फुटबल तथा सोमबारै सुरु भएको बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो ।
हेटौंडा–४ स्थित भूटनदेवी माविको सहव्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता थियो । हेटौंडा–४, कर्रास्थित श्रमिक माविको सहव्यवस्थापनमा नगरस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता भएको हो । प्रतियोगितामा २१ वटा विद्यालयको सहभागिता थियो । यस्तै, हेटौंडा–४ कै नवोदय शिशु सदनको सहव्यवस्थापनमा भएको बास्केटबल प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता थियो ।
क्रिकेटको उपाधि आधुनिक माविलाई
नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । भूटनदेवी माध्यमिक विद्यालयको चौरमा भएको फाइनल खेलमा सहव्यवस्थापक भूटनदेवी माध्यमिक विद्यालयलाई ८ विकेटले हराउँदै आधुनिकले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भूटनदेवी माविले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । भूटनदेवीको तर्फबाट सन्देशले २९ रन र रितिकले २८ रन बनाएका थिए । आधुनिकबाट रोहित दिपेशले सर्वाधिक ४ विकेट लिएका थिए भने आदर्शले २ विकेट लिएका थिए । एक सय रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको आधुनिकले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । आधुनिकका रोहित ठाकुरले सर्वाधिक ७२ रन बनाएका थिए । आदर्शले १६ रन बनाएका थिए । खेलको म्यान अफ द सिरिज रोहित ठाकुरै घोषित भएका छन् ।
सोमबारै भएको सेमिफाइनल खेलमा भूटनदेवीले र हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयलाई हराउँदै फाइनलको यात्रा पूरा गरेको थियो भने आधुनिकले हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीलाई हराउँदै फाइनलको यात्रा पूरा गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई बुधबार पुरस्कृत गरिने क्रिकेट प्रतियोगिताका संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभएको छ ।
हेटौंडा एकेडेमीले जित्यो फुटबलको उपाधि
नगरस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीले जितेको छ । फाइनल प्रतिस्पर्धामा हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै हेटौंडा एकेडेमीले उपाधि जितेको हो । निर्धारित खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो ।
सोमबारै भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा–९ स्थित प्रगति माविलाई पराजित गर्दै बुद्ध माविले फाइनलको यात्रा तय गरेको थियो । यस्तै, दोस्रो सेमिफाइनल खेलमा हेटौंडा–४ स्थित श्रमिक माविलाई पराजित गर्दै हेटौंडा एकेडेमी फाइनलमा पुगेको हो । फुटबल प्रतियोगिता श्रमिक माविको चौरमा भएको थियो । बुधबार रोयल प्यालेसमा हुने कार्यक्रममा फुटबलका विजेता तथा उपविजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र र विद्यालयलाई ट्रफी प्रदान गरिने फुटबल प्रतियोगिताका संयोजक राजेश अधिकारीले जानकारी दिनुभयो ।
बास्केटबलको उपाधि नवोदयलाई
हेटौंडाः सोमबार भएको बास्केट ल प्रतियोगिताको उपाधि हेटौंडा–४ स्थित नवोदय शिशु सदनले जितेको छ । नवोदयको बास्केटल बल कोर्टमा भएको प्रतियोगितामा हेटौंडा–८ स्थित कमाने एकेडेमीलाई ४६–१८ अंकले हराउँदै नवोदयले उपाधि जितेको हो । प्रतियोगितामा नवोदय शिशु सदनका प्रहस्त खड्का उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सोमबारै सम्पन्न भएको सेमिफाइनल चरणको खेलमा हेटौंडा एकेडेमीलाई २५–१३ अंकले हराउँदै नवोदय फाइनलमा प्रवेश गरेको थियो भने हेटौंडा–२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमीलाई १७–१४ अंकले हराउँदै कमाने एकेडेमीले फाइनलको यात्रा पूरा गरेको हो । प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहेको नवोदयका बास्केटबल प्रशिक्षक क्षितिज लामाले जानकारी दिनुभएको छ । बास्केट बल प्रतियोगितामा विजेता र उपविजेता बनेका टिम तथा उत्कृष्ट खेलाडीलाई बुधबार हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने प्रशिक्षक लामाले बताउनुभयो ।