फाइल तस्विर

हेटौंडाः प्लाष्टिक प्रयोगको विकल्प खोजीका लागि शुक्रबार स्थानीय सरकार र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । अस्मिता नेपालको आयोजना र न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा “प्लास्टिक प्रयोगको निर्मुल र विकल्प” विषयमा अन्तरक्रिया गरिएको हो ।
प्लाष्टिकजन्य सामग्रीको प्रयोगका कारण वातावरणीय क्षेत्रमा पारेको असरलाई कम गर्न आयोजित अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्लाष्टिकको प्रयोग निर्मुल गर्न नसकिने बताउनुभयो ।

उहाँले दुई दशकअघि तत्कालिन हेटौंडा नगरपालिका हुँदा प्लाष्टिकको प्रयोग अन्त्यका लागि कपडाको झोला, सुइरो लगायतका कार्यक्रम चलाएपनि सफल नभएको सम्झँदै प्लाष्टिकको प्रयोग केही कम गर्न सक्नेतर्फ सोच्नुपर्ने बताउनुभयो । प्राकृतिक स्रोत र साधनलाई आधुनिक प्रविधिको प्रयोग गर्दै प्लाष्टिकको विकल्पमा प्रयोग गर्न सकिने वस्तु उत्पादन गर्नुपर्ने बताउनुभयो ।

यसका लागि उपमहानगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो । उपमहानगरका वातावरण तथा सरसफाई समितिका संयोजक एवम् वडा नम्बर ७ का अध्यक्ष राजन दाहालले पछिल्लो समय प्लाष्टिकका प्लेट तथा कपको प्रयोग बढिरहेकाले यसलाई नियन्त्रणको लागि वन समूहले टपरी तथा दुना बनाउन सक्ने बताउनुभयो । कार्यक्रममा वन समूहका उपाध्यक्ष रामचन्द्र अधिकारीले समूहका महिलाहरुको आर्थिकस्तर बढाउन र उनीहरुलाई उद्यमतर्फ आकर्षित गर्न मेसिनबाट दुना, टपरी बनाउने तालिम दिन लागिएको बताउनुभयो ।

अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले समूहका सदस्यहरुलाई हस्तकला सामग्री निर्माणका लागि तालिम र उद्योग दर्ता गर्न सहयोग गर्दै आएको बताउँदै दुना, टपरी निर्माण, बजारीकरण र खेर गएका वस्तुबाट जैविक मल बनाउनका लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रम न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको हो ।