आगो निभाउने प्रयास गर्दै ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फेरी आगो लागेको छ । सोमबार बिहान करिब ३ बजेको समयमा हेटौँडा–१० स्थित डम्पिङ साइटमा लागेको हो । डम्पिङ साइटमा आगो लागेको खबर प्राप्त हुनासाथ बिहान साढे ४ बजेको समयमा हेटौँडा उपमहानगरपालिकाको बारूणयन्त्र इकाइका इन्चार्ज दिनेश राईको नेतृत्वमा कर्मचारीहरु आगो निभाउनका लागि पुगेका थिए ।

डम्पिङ साइटका आगो लागेको खबर प्राप्त भएपछि आगो नियन्त्रण गर्न पुगेको बारूणयन्त्र इकाइका इन्चार्ज दिनेश राईले जानकारी दिनुभएको छ । डम्पिङ साइटमा अत्यधिक आगो लागेपछि २ वटा बारूणयन्त्र, २ वटा बुल डोजोरको सहायताले ७ जना कर्मचारी मिलेर आगो निभाउन थालेको बारूणयन्त्र इन्चार्ज राईले बताउनुभयो । डम्पिङ्ग साइटमा २ पटक आगो लागेपनि कसले लगाएको र किन लगाएको भन्ने कुराको पत्तो नभएको उहाँले बताउनुभयो ।

डम्पिङ साइटको फोहोरमा आगो लागेर हेटौँडा बजार क्षेत्र नै प्रभावित बनेको, धुँवा नै धुँवा भएर स्थानीय बासिन्दालाई समस्या परेको उहाँले बताउनुभयो ।

यसअघि डम्पिङ साइटको आगो निभाउनका लागि हेटौँडा–११ का वडा सदस्य विकास नेपाल प्रशासन कार्यालय पुग्नु भएको थियो । डम्पिङ साइटमा फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाको प्रभावकारी भूमिका नभएको भन्दै नगरवासीले उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन समेत दायर गरेको थियो ।